चुवापाड़ा हिन्दी हाइस्कूलमा बाल विवाह निषेधमाथि सचेतना कार्यक्रम

IMG-20220711-WA0193.jpg

कालचिनी: बाल विवाह जस्तो कुप्रथाको चलन अहिले पनि डुवर्सको कतिपय गाउँघरहरूमा छद्मभेषमा चल्दै आइरहेको घटना प्रकासमा आइरहेको र यसलाई सचेतना मार्फत निर्मूल पार्न सभ्य समाज अघि बढ़नु पर्ने आह्वान सरकार औ प्रशासनले गरीरहेको क्रममा अलिपुरद्वार डीपीआरडीओको निर्देशमा औ चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको सहयोगितामा आज कालचिनी खण्डको चुवापाड़ा हिन्दी हाइस्कूलमा बाल विवाहमाथि एउटा सचेतना कार्यक्रम सम्पन्न भयो। आज सो अवसरमा प्रमुख अतिथि डीआई प्रतिनिधको रुपमा दलसिंहपाड़ा श्रगणेश विद्यालयका प्रधान अध्यापक कौशल किशोर, एसआई प्रतिनिधि लगायत सिनि अलिपुरद्वार जिल्ला संयोजक विमान चौधरी, कालचिनी ब्लक प्रोजेक्ट कोर्डिनेटर प्रिया हल्दार, चुवापाड़ा हिन्दी हाइस्कूलका प्रधान शिक्षक सुखीराम रविदास एवम् आईसीडीएस, आशा र एएनएम स्वास्थ्य कर्मीहरूको उपस्थिति रहेको थियो।
अभिभावक र विद्यार्थीहरूलाई सचेत गराउन सिनीको सहयोगितामा फ्रेम थियेटरको आधारमा स्कूलका छात्राहरूले बाल विवाहको अभ्यास सम्बन्धित नाटक प्रदर्शन गरेको थियो भने उक्त नाटकको नकरात्मक पक्ष मार्फत अभिभावकहरूलाई सकारात्मक सन्देश दिने उद्देश्य रहेको सिनी अलिपुरद्वार जिल्ला संयोजक विमान चौधरी र‌ प्रोजेक्ट कोर्डिनेटर प्रिया हल्दारले जनाएका छन्। सचेतनासितै स्कूलका विद्यार्थीहरूलाई लिएर बाल विवाह बन्द गर्नुपर्ने नारासहित चुवापाड़ा क्षेत्रमा ऱ्याली पनि निकालिएको थियो। कार्यक्रमबारे चुवापाड़ा हिन्दी हाइस्कूलका प्रधान शिक्षक सुखीराम रविदासले बाल विवाह जस्तो कुप्रथाको चलन कुनै न कुनै रुपमा आजसम्म समाजभित्र चलिरहेकोले यसलाई निर्मूल गर्न प्रशासन साथै सिनि संगठनको पहल प्रशंसनीय रहेको जनाएका छन्। सिनीका अलिपुरद्वार जिल्ला संयोजक विमान चौधरीले अलिपुरद्वार जिल्लामा कालचिनी खण्डको चुवापाड़ा हिन्दी हाइस्कूलमा बाल विवाहमाथि फ्रेम थियेटरको आधारमा यस्तो सचेतना कार्यक्रम प्रथमपल्ट भएको र यसले समाजलाई व्यापक सचेतना गर्ने आशा राखिएको बताउँदै आगामी दिनमा प्रशासनको सहयोगितामा अझै यस्तो व्यापक कार्यक्रम सम्पन्न गर्ने जनाएका छन्। बाल विवाहको चलनलाई समाजबाट हटाउने उद्देश्यले नै यो विशेष सचेतना कार्यक्रम सम्पन्न गरिएको तिनले थप जनाएका छन।

About Author

Advertisement