जनतासँग कुरा गरेर बजेट तयार गर्दैछौँ, पहिलेका बजेटहरू ट्रेडमिलमा बनाइन्थ्यो: उत्तर कन्यामा मन्त्री स्वपन दासगुप्ता

Screenshot_20260611_212851_Chrome

सिलगढी: ​पश्चिम बङ्गालका राज्य अर्थमन्त्री स्वपन दासगुप्ताले उत्तर कन्यामा एक विशेष पूर्व-बजेट परामर्श बैठकको आयोजना गर्नुभएको छ। आगामी जुन २० मा प्रस्तुत हुन गइरहेको राज्यको बजेटभन्दा अगाडि उत्तर बङ्गालको औद्योगिक, व्यावसायिक र आर्थिक विकासका लागि सुझाव तथा मागहरू सङ्कलन गर्ने उद्देश्यले यो बैठक डाकिएको हो। अर्थमन्त्रीको रूपमा कार्यभार सम्हालेपछि उत्तर कन्यामा यो उहाँको पहिलो प्रशासनिक भ्रमण हो। बैठकमा बोल्दै मन्त्री दासगुप्ताले आफूहरू जनताको भावना र आवश्यकता बुझेर बजेट निर्माणमा लागेको स्पष्ट पार्नुभयो। उहाँले विगतका सरकारहरूले कोठाभित्रै वा ट्रेडमिलमा बसेर बजेट बनाउने गरेको टिप्पणी गर्दै वर्तमान सरकारले भने जनताको घरदैलोमा पुगेर सल्लाह लिइरहेको दाबी गर्नुभयो।
​यस महत्त्वपूर्ण बैठकमा उत्तर बङ्गाल विकास मन्त्री निसिथ प्रामानिक, राज्यमन्त्री आनन्दमय बर्मन, वित्त विभागका अतिरिक्त मुख्य सचिव र सचिवका साथै दर्ता एवं स्टाम्प राजस्व आयुक्त लगायत थुप्रै वरिष्ठ प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै उत्तर बङ्गालभरिका विभिन्न व्यापारिक सङ्गठनका प्रतिनिधि, उद्योगपति र व्यापारीहरूले पनि बैठकमा भाग लिएका थिए। बैठकको मुख्य केन्द्रविन्दु उत्तर बङ्गालको समग्र आर्थिक उन्नयनमा केन्द्रित थियो। यस क्रममा स्थानीय सरोकारवालाहरूले चिया उद्योगको वर्तमान दयनीय अवस्था, मालदाको आँपको बजारीकरण र यसको निर्यातमा देखिएका समस्याहरूका बारेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
​बैठकमा लघु, साना तथा मझौला उद्योग (एमएसएमई) को प्रवर्द्धन, उत्तर बङ्गालको पर्यटन क्षेत्रको विकास र व्यवसायीहरूले भोग्नुपरेका विभिन्न चुनौतीहरू समाधान गर्न सरकारी हस्तक्षेपको माग गरिएको थियो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री दासगुप्ताले कोलकातापछि यो दोस्रो पूर्व-बजेट परामर्श बैठक भएको र यसमा कोचबिहार, उत्तर दिनाजपुर, दार्जिलिङ, कालिम्पोङ र मालदा जस्ता जिल्लाका प्रतिनिधिहरूले उत्साहजनक रूपमा सहभागिता जनाएको बताउनुभयो। व्यवसायीहरूले उठाएका जीएसटी सम्बन्धी समस्या र सिलगढीमा जीएसटी एपेलेट ट्रिब्यूनल स्थापना गर्ने मागलाई सरकारले गम्भीरतापूर्वक विचार गरिरहेको उहाँले आश्वासन दिनुभयो।

About Author

Advertisement