जनआक्रोशपछि झुक्यो पाकिस्तान सरकार, पेट्रोल ८० रुपैयाँ प्रति लिटर सस्तो

pakistan-petrol-2026-04-dbc1cf79f0ef8345b44dd6942076aac8-1200x800

इस्लामाबादः पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि भएपछि उत्पन्न जनआक्रोशबीच प्रधानमन्त्री शहबाज शरीफ ले पेट्रोलको मूल्यमा ८० पाकिस्तानी रुपैयाँ प्रति लिटर कटौती गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पेट्रोलमा लाग्ने लेभीमा तत्काल ८० रुपैयाँ घटाउने निर्णय गरिएको बताए। यससँगै पेट्रोलको नयाँ मूल्य ३७८ रुपैयाँ प्रति लिटर कायम भएको छ, जुन मध्यरातदेखि लागू भएको छ।
यसअघि सरकारले पेट्रोल र हाई-स्पीड डिजेलको मूल्यमा क्रमशः ४३ प्रतिशत र ५५ प्रतिशतले वृद्धि गरेको थियो। पेट्रोलको मूल्य ३२१.१७ रुपैयाँबाट बढाएर ४५८.४१ रुपैयाँ प्रति लिटर पुर्‍याइएको थियो, जसले सर्वसाधारणमा ठूलो असन्तोष सिर्जना गरेको थियो।
शहबाज शरीफले खाडी क्षेत्रको अवस्थाका कारण इन्धनको मूल्य बढेको बताए पनि सरकारले नागरिकलाई राहत दिन हरसम्भव प्रयास गरिरहेको उल्लेख गरे। उनले कम्तीमा एक महिनासम्म मूल्य नबढाइने आश्वासन पनि दिएका छन्।
सरकारले राहत प्याकेजअन्तर्गत मोटरसाइकल प्रयोगकर्तालाई १०० रुपैयाँ प्रति लिटर अनुदान, ढुवानी सवारीका लागि ७०,००० देखि ८०,००० रुपैयाँसम्म सहायता र यात्रुवाहक सवारीका लागि १ लाख रुपैयाँसम्म सहयोग दिने घोषणा गरेको छ। साथै साना किसानका लागि प्रति एकड १,५०० रुपैयाँ आर्थिक सहायता पनि दिने बताइएको छ।

About Author

Advertisement