सामाजिक सञ्जालमा लेखे: मलाई तिमीप्रति गर्व छ
नयाँ दिल्ली: भारतीय क्रिकेट टोलीका पूर्व दिग्गज स्पिनर अनिल कुम्बलेका छोरा मयास कुम्बले इन्जिनियर बनेका छन्। छोराको यो ठुलो सफलतापछि ‘जम्बो’ नामले परिचित अनिल कुम्बले र उनकी पत्नी चेतना कुम्बले निकै भावुक बनेका छन्। यस विशेष अवसरमा चेतनाले इन्स्टाग्राममा छोराका लागि एउटा लामो र मर्मस्पर्शी पत्र लेख्दै अनिल कुम्बलेलाई पनि ट्याग गरेकी छन्। सामाजिक सञ्जालमा सेयर गरिएको तस्बिरमा अनिल कुम्बले, उनकी पत्नी चेतना र इन्जिनियर बनेका छोरा मयास निकै खुसी देखिएका छन्।
छोराको बाल्यकाल स्मरण गर्दै चेतनाले पोस्टमा लेखेकी छन् कि मयास मात्र तीन वर्षको छँदादेखि नै आफू ठुलो भएर के बन्ने भन्ने कुरामा स्पष्ट थियो। उसले बाल्यसुलभ दृढताका साथ आफू इन्जिनियर बन्ने बताउँथ्यो र साना हातहरूले रेन्च (पाना) समातेर एक दिन नयाँ स्कुटर बनाउने दाबी गर्थ्यो। मयास सात वर्षको हुँदा उसका सपनाहरू अझ ठुला भए र उसले कार डिजाइन गरेर त्यसको नाम ‘माक'(MAK) राख्ने बताउन थाल्यो। चेतनाका अनुसार सुरुमा यी बाल्यकालका कुरा जस्तो लागे पनि आज छोरा इन्जिनियरका रूपमा दीक्षित हुँदा संसारले थाहा पाउनु अघि नै बच्चाहरूलाई आफू के बन्ने भन्ने थाहा हुने रहेछ भन्ने आभास भएको छ। वर्षौँको कडा मिहिनेत र अनिँदो रातहरूको परिणाम स्वरूप छोराले आफ्नो बाल्यकालको वाचा पूरा गरेको भन्दै उनले गर्व र कृतज्ञता व्यक्त गरेकी छन्।
विशेष कुरा त के छ भने, भारतका लागि ९५७ (957) अन्तर्राष्ट्रिय विकेट लिएर कीर्तिमान बनाएका अनिल कुम्बले आफैँ पनि क्रिकेटमा आउनुअघि इन्जिनियर थिए। त्यसैले छोराले पनि आफ्नै पाइला पछ्याउँदै इन्जिनियरिङको डिग्री हासिल गर्नु कुम्बलेका लागि निकै गौरवको विषय बनेको छ। छोराको सफलतामा अनिल कुम्बलेले धेरै लामो पोस्ट नलेखे पनि एउटा छोटो र सुन्दर सन्देशमार्फत बधाई दिएका छन्। कुम्बलेले मयासलाई बधाई दिँदै लेखेका छन् कि मलाई तिमीप्रति गर्व छ छोरा, तिमी बाबाकै नक्साकदममा अघि बढ्दै छौ, धेरै धेरै बधाई छ र अब यस क्षेत्रमा आफ्नो पहिचान बनाऊ। कुम्बले दम्पतीको यो भावुक पोस्ट र तस्बिरहरूलाई अहिले खेलप्रेमीहरूले निकै मन पराइरहेका छन्।










