एसकेएम पार्टीले हारेको क्षेत्रलाई प्राथमिकता दिएको छः जेकब खालिङ
गान्तोक: गत केही दिन अघिदेखि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्ठीस्तरीय सांगठनिक जनसभामा राज्यको विभिन्न निर्वाचन क्षेत्रहरूमा सम्पन्न भइरहेको छ। यसै क्रममा आज छुजाचेनमा एसकेएम पार्टीको समष्ठीस्तरीय सांगठनिक जनसभा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री विष्णु कुमार खतिवडा रहेका थिए भने विशिष्ठ अतिथिमा मुख्यमन्त्रीका राजनीतिक सचिव एवम पार्टीका प्रवक्ता जेकव खालिङको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री विष्णु खतिवडाले यस निर्वाचन क्षेत्रमा भएको विभिन्न कार्यहरुबारे प्रकाश पारे। आफूले पनि यस क्षेत्रका पञ्चायत, जिल्ला पञ्चायत अनि कार्यकर्ताहरुसँग मिलेर धेरै काम गरिरहेको उनले बताए। काम नपाएर जनता भडकाउँदै यो क्षेत्रमा ऱ्याली गर्दै हिँडने विपक्षी पार्टीका कार्यकर्ताहरुलाई उनले लाखेस गर्दै उनीहरू ऱ्य़ाली आयोजना गर्दै बस्नु एसकेएम पार्टीले फेरि सरकार गठन गर्ने दावी गरे। आगामी चुनावमा पक्कै पनि यस क्षेत्रका जनताले टेबल ल्याम्पको चिन्हमा मतदान दिएर एसकेएम पार्टीका उम्मेदवारलाई विजयी बनाउने किटान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङले २०१९ मा सरकार गठन भएपछि विपक्षीहरुले सरकार ढल्ने कुरालाई मुद्दा बनाएको बताए। तर मुख्यमन्त्री प्रेमसिंह तामाङले कुशल नेतृत्व र दक्षता देखाउँदै सिक्किमको विकास हेतु धेरै काम गरेपछि अन्ततः विपक्षीहरूको सरकार ढल्ने मुद्दा सेलाएर गएको जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व सरकारले जस्तो पार्टीका उम्मेदवार पराजित भएको क्षेत्रलाई सुकौरो लगाउने नीति अप्नाएको भए यस निर्वाचन क्षेत्रको विकास असम्भव रहेको बताए। तर उनले हारेको क्षेत्रलाई प्राथमिकता दिँदै काम गरिरहेको पनि खालिङले किटान गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो कार्यशैलीबाट गरीबको पार्टी हुँदैन तर केवल उनीहरूको सरकार हुन्छ भन्ने सिद्धान्तनै कायम गरेको प्रष्ट पारे। जनमतले बनिएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार हरेक गरीबको घरमा पुगेको पनि उनले किटान गरे। सरकार निर्माण भएको पहिलो दिनदेखि सिक्किम अनि सिक्किमेहरुको हितमा सरकारले गरेको विभिन्न कार्यहरूबारे उपस्थित जनसाधारणलाई उनले अवगत गराउँदै अब सरकारले के के गर्नेछ सो कुराहरू बारे पनि जनतालाई जानकारी गराए। सरकारी अस्पताल अनि सरकारी पाठशालामा गरीब जनताले सेवा लिने हुँदा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले शिक्षा अनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए। आफू सरकारमा हुँदा पनि राज्यका विभिन्न जातलाई विभाजन गर्ने अनि अहिले सरकारबाट सत्ताच्युत भएपछि पनि सिक्किमे समाजलाई जात जातमा विभाजन गर्ने नीति विपक्षी दलले गरिरहेको दावी गरे। एउटा धागोमा उनिएर माला सरह बसेको सिक्किमे जातगोष्ठीलाई विभाजन गर्न खोज्ने कालो कर्तुतको निम्ति पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किमे समाजसमक्ष माफी माग्नुपर्ने उनले बताए। सिक्किमको सर्वाङ्गीण विकास गर्ने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई आगामी २०२४ मा विजयी बनाएर सिक्किमलाई विकासको शिखरमा पुऱ्याउन सबैले योगदान दिने पनि उनले आग्रह गरे।









