खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा बुधवार एउटा म्याच खेलियो। चानमारी खेल मैदानमा आज भएको चौथो क्वार्टर फाइनल म्याचमा शहीद रमन एफसी, कलकत्ताले इलाम एफसी (नेपाल) विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल सुश्मिता हेम्बरमले गरिन्। रमन एफसी-की लाखी हासदाले प्लेयर अव् द म्याचको ट्रफी जितिन्। शहीद रमन एफसीले अब ६ मार्चमा खेलिने सेमिफाइनलमा स्टार वरियर्स (झारखण्ड)-को चुनौती स्वीकार्नेछ। आज खेलिएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू प्रतिक गुरुङ, प्रमोद प्रधान, रेबिका प्रधानले गरेका थिए। शिशिर राई फोर्थ अफिसियल रहेका थिए। इन्द्र पी लामा र रोशन गुरुङ म्याच कमिश्नर थिए। टुर्नामेण्टमा जम्मा १२ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल ८ मार्चमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा दुईवटा सेमिफाइनलिष्ट टीमहरूलाई २५-२५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









