चोरीको मामिलामा दुई जना स्वर्ण व्यवसायी सहित तीन पक्राउ

IMG-20230528-WA0320-5-300x172-6

सिलगढी: प्रधान नगर थाना पुलिसले चोरीको मामिलामा चोर सहित चोरी गरेको समान किन्ने २ जना व्यक्तिलाई पनि पक्राउ गरेको छ। यसको साथै पुलिसले आरोपीहरूबाट नगद एक लाख रुपियाँ र सुन पनि उद्धार गरेको छ। घटनाक्रम अनुसार गत १३ जनवरीमा बदमाशहरूले प्रधान नगर थाना अन्तर्गत एसएनटी बस स्ट्यान्ड संलग्न एउटा अफिसको देवल भत्काएर नगद ७ लाख रुपियाँ सहित लगभग ७०ग्राम सुन चोरी गरेर चम्पट कसेको थियो। उक्त घटनापछि थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थाना पुलिसले गत १७ जनवरीमा राजा हुसेनलाई पक्राउ गरेपछि अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको थियो। यस अवधि पुलिसले आरोपी राजासित सोधखोज गर्दा २ जना साथीको सहयोगमा चोरी गरेको कुरा स्वीकारे भने सुनको गर-गहना मल्लागढीका एकजना स्वर्ण व्यवसायी अर्जुन प्रसादलाई बिक्री गरेको बताए। यसपछि पुलिसले स्वर्ण व्यवसायी अर्जुन प्रसादलाई पनि पक्राउ गरेर अदालत पेश गरेपछि रिमान्डमा लिएर सोधखोज गर्दा तिनले उक्त सुन गलाएर विधान मार्केटका एकजना व्यवसायी सुजीत मोडेलाई बिक्री गरेको बताए। पुलिसले चोरी गरेको समान किनेको आरोपमा गत राति सुजीत मोडेलाई पनि पक्राउ गरेको छ। यसको साथै चोरी गरेको सुन पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार चोरीको घटनालाई अन्जाम दिने गुटका दुईजना सदस्यले सुइँकुच्चा ठोकेकोले गर्दा पुलिसले तिनीहरूको खोजी शुरू गरेको छ। पुलिसले चोरी गरेको नगद सात लाख रुपियाँमा केवल एक लाख तीन हजार रुपियाँ उद्धार गरेको छ।

About Author

Advertisement