जलपाईगढी: बनेरहाट पुलिसले १०४ बोरा चोरीको चामलसहित दुई जनालाई पक्राउ गरेको छ। गत वैशाख २४ गते बनारहाट पुलिस चौकी अन्तर्गत तेलीपाडा क्षेत्रका एक व्यापारीको चामल गोदामबाट करिब १०४ बोरा चामल चोरी भएको बताइएको छ। घटनाको अनुसन्धान पछि, बनेरहाट थानाको पुलिसले इलाकामा खोजी गर्यो र सीसीटीभी फुटेज पनि जाँच गर्यो। सीसीटीभी फुटेज हेरेपछि पुलिसले एउटा सानो मालवाहक गाडीको पहिचान गरेको थियो। गाडी मालिकसँग सोधपुछ गरेपछि पुलिसले गाडी भाडामा दिएको थाहा पाए। पुलिसले गाडीको जीपीएस ट्र्याक गरी चोरी भएको चामलको बोरा फेला पारेको थियो। साथै घटनामा संलग्न रहेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले चोरी गरेको स्वीकार गरेका छन्। त्यसपछि पुलिसले उनलाई पक्राउ गरेको हो। पुलिस स्रोतका अनुसार पक्राउ पर्नेहरुको नाम अमित दत्त र सुमनलाल मिन्स रहेको छ। उनीहरु मध्ये एकको घर मालबजार र अर्कोको घर डिम्माडिमा चिया बगानमा छ। पक्राउ परेकाहरूलाई बिहीबार जलपाईगढी जिल्ला अदालतमा पठाइएको छ।











