चुनावको मुखैमा कलेजभेल्ली चियाबारीमा काम बन्दको नोटिस

IMG-20240402-WA0224.jpg

मांग पूरा नभएसम्म तयारी भएको चियापत्ती बाहिर लानु नदिने

सोनादा: चुनावको मुखैमा कलेजभेल्ली चियाबारीमा प्रबन्धक पक्षले चिया बगानमा काम बन्दको नोटिस टाँसेर काम बन्द भएको छ। गत केही दिनदेखि समस्या सिर्जना भएको कलेजभेल्ली चियाबारीमा बिहान काम बन्दको नोटिस टाँसेको स्थानीय चियाबारी श्रमिकहरूले बताएका छन्। हालमा सिलिकन एग्रो टी कम्पनीको अधीनस्थ रहेको कलेजभेल्ली चियाबारीमा स्टाफ, लोवर डिभिजन स्टाफहरू र श्रमिकहरू लगाएर जम्मा ६३० जना रहेका छन्। यस बगानमा बिहान प्रबन्धक पक्षले नोटिस टाँसेको देखेर काममा आएका श्रमिकहरू पनि अलमल्ल परेर काममा नगई कार्यालयमा नै रहेको बताइएको छ। कमानमा काम बन्दको नोटिस टाँसेको कारणले यहाँ मार्च महिनामा तयार पारिएको ११४ केजी चियापत्ती र अप्रेलमा तयार पारिएको गरी जम्मा २५७ केजी चियापत्ती कारखानामा नै शिल गरेर राखिएको जानकारी प्राप्त भएको छ। कलेजभेल्ली चियाबारीमा मालिकले स्टाफ र श्रमिकहरूलाई पीएफ र ग्राजुएटीको रकम पनि समयमै भुक्तान नगरिएको गुनासो रहेको छ। बागनमा काम बन्द भएको नोटिस देखेर श्रमिकहरू र स्टाफहरू मिलेर बगानमा तयार पारिएको चियापत्ती शिल गरेर राखिएको बताइएको छ।कलेजभेल्ली चियाबारीमा आजदेखि काम बन्दको नोटिस टाँसेपछि काम बन्द हुँदा जीटीएको डेपुटी चिफ् एंव क्षेत्रीय सभासद राजेस चौहान कलेजभेल्ली पुगेर कारखानामा केही नराम्रो घटना नहोस् ,तोड़फोड़ नहोस् भनेर सुरक्षा गार्डको व्यवस्था गरेको पनि जानकारी प्राप्त भएको छ। उनले चियाबारी श्रमिकहरूलाई शान्ति बनाई राख्ने अपिल समेत गरेका छन्।

अर्कोतिर बगानका स्टाफ सुनिल थापा रअशोक गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै बिहान अचानक नोटिस टाँसिएको देखेको बताउँदै योभन्दा अघि कतिवटा सभाहरूमा कलेजभेल्लीको मालिक पक्ष अनुपस्थित रहेको र यसपाली चियापत्ती टिपाई बन्द गर्ने सोचे पनि फस्ट फ्लस चियापत्ती टिप्नु दिएको तर आज आएर अचानक काम बन्दको नोटिस टाँसेर छक्क परेको बताएका छन्। अब जबसम्म कम्पनीले हामीलाई हाम्रो मांग पूरा गर्दैन चियापत्ती टिपेर पनि बिक्री गर्न नदिने साथै मांग पूरा नभएसम्म साथै अहिलेको कम्पनीले बगान चलाउन सक्दैन भने सरकारले नयाँ कम्पनी खोजीदिनुपर्छ भनी मांग गरेका छन्।

About Author

Advertisement