चिया श्रमिकहरूका लागि बीस प्रतिशत बोनस असल परिवर्तनको सुरुवात हो – चन्दन प्रसाद

9cfe2681-20dc-46e2-a05f-2a1ea0f770b8

खरसाङ (८ सेप्टेम्बर): चिया श्रमिकहरूका लागि बीस प्रतिशत बोनस दिने घोषणा असल परिवर्तनको सुरुवात हो भनी भारतीय जनता पार्टीको तर्फबाट दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले बताएका छन्। उनले चियाबारी श्रमिकहरुको लागि यसपाली बीस प्रतिशत बोनसको घोषणा गरिएपछि प्रेस विज्ञप्ति जारी गर्दै भने,’एउटा अत्यन्तै सुखद र स्वागतयोग्य समाचार सुन्न र देख्न पाउँदा खुशी लागेको छ।विगतका वर्षहरूमा चिया श्रमिकहरूको बोनसको विषयमा लामो समयसम्म अन्योल, छलफल र आन्दोलन हुने गरेको हामीले देख्दै आएका थियौँ। तर यसपटक परिस्थिति फरक छ। पश्चिम बंगाल सरकारको श्रम आयुक्तालयले आर्थिक वर्ष २०२५-२६ का लागि उत्तर बंगालका हिल तराई र डुवर्स क्षेत्रका चिया बगान श्रमिकहरूलाई बीस प्रतिशत बोनस दिनुपर्ने स्पष्ट निर्देशन जारी गरेको छ। यसको साथै ५ अक्टोबर २०२६ भित्र बोनस वितरण गरिसक्नुपर्ने मिति पनि तोकिएको छ। यो वास्तवमै स्वागतयोग्य र सकारात्मक पहल हो।’
भाजपा नेता चन्दन प्रसादले अघि भने, ‘यस पहलको श्रेय सांसद राजु बिष्टलाई पनि जान्छ। उनले दार्जिलिङ, गोर्खा समुदाय र चिया श्रमिकहरूको हितका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। चिया बगानहरूको विकास र श्रमिकहरूको हितका लागि ३१३ करोड रुपियाँको बजेट स्वीकृत गराउने पहलदेखि लिएर बन्द रहेका चिया बगानहरू पुनः सञ्चालन गर्ने विषयमा श्रम मन्त्री तथा सम्बन्धित पक्षहरूसँग निरन्तर छलफल, चिया बगानका दीर्घकालीन समस्या, श्रमिकहरूको न्यूनतम ज्याला, पट्टा तथा अन्य अधिकारका विषयसम्म उनले निरन्तर पहल गर्दै आएका छन्।’
उनले अझ भने, ‘कतिपय पहलहरू धरातलमा कार्यान्वयन भइसकेका छन्, कतिपय कार्यान्वयनको प्रक्रियामा छन् र केही विषयमा अझै काम गर्न बाँकी छ। तर महत्वपूर्ण कुरा के हो भने काम भइरहेको छ र सकारात्मक दिशामा भइरहेको छ। हामीले सरकार नयाँ भएको कुरा पनि बुझ्नुपर्छ। हरेक काम एकैदिनमा पूरा हुँदैन। समय लाग्न सक्छ, ढिलो छिटो हुन सक्छ तर जनताको हितमा सही दिशामा काम भइरहेको छ भने हामीले धैर्य राख्नुपर्छ।’
उनले अझ भने, ‘बोनसकै विषयमा विगतमा श्रमिकहरूले आन्दोलन र संघर्ष गर्नुपर्ने अवस्था आउँथ्यो। तर यसपटक त्यस्तो परिस्थिति आउन नदिई सरकारले आफैं स्पष्ट रूपमा बीस प्रतिशत बोनसको निर्देशन जारी गर्नु सकारात्मक परिवर्तनको संकेत हो। त्यसैले, सम्पूर्ण जनसमुदायलाई मेरो आग्रह छ, आशा राखौँ, विश्वास राखौँ र सकारात्मक परिवर्तनलाई साथ दिऔँ।’
उनले भने, ‘हामीले चुनेको सही नेतृत्व र सही सरकारले जनताको आवाज सुनेर काम गरिरहेको छ। भारतीय जनता पार्टी र यसका नेतृत्वप्रति राख्नुभएको विश्वासलाई हामी अझ मजबुत बनाउँदै लैजानेछौँ। जनताको हित, श्रमिकको सम्मान र उत्तर बंगालको विकास यही हाम्रो प्राथमिकता हो।’

About Author

Advertisement