गान्तोक। चिया कविता सिक्किमले साहित्यकार महेश पौड्यालसित चिया गफ कार्यक्रमको आयोजना गरेको थियो। तिनले आफ्ना काव्य प्रस्तुति गर्न तिनले भने, सिक्किमे साहित्यिक मनहरूसित आफ्नो लामो समयदेखि रहेको सम्बन्धलाई अझ बलियो बनाउन आवश्यक रहेको बताउँदै नेपालको राजधानी काठमाण्डौबाट आएका साहित्यकार महेश पौड्यालले सिक्किम आउँदा आफुलाई कहिले नेपाल बाहिर भएको महसुस नहुने बताए। उनले छोटा कविताहरूमार्फत शक्तिशाली अभिव्यक्ति दिँदै आएका छन् भने कार्यक्रममा सशक्त कविता सुनाउदै साहित्यबारे विशेष मन्तव्य राखे। उनले राजनैतिक र भौगोलिक सिमानाले कला साहित्यलाई बाध्न नसक्ने बताउँदै आफुले भारतमा शिक्षा आर्जन गरेर पाएको ज्ञानलाई यहाँ पनि कहीं कतै प्रयोगमा आउन सके आफ्नो निम्ति अहोभाग्य हुने बताए। कार्यक्रममा उनले आउँदो दिनमा २००० सालपछि नेपाली कविता गर्दै आएका कविहरूको प्रतिनिधि कविताको प्रकाशनमा पनि कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए।
साहित्यकार पौड्यालसित चिया गफमा उपस्थित बनेका साहित्यकार पेम्पा तामाङले चिया कविताको पक्षबाट अभिन्दन वक्तव्य राखेका थिए। उनले साहित्यकार पौड्याल वर्तमान समयका धेरै अध्ययन गरेर सिर्जना र समालोचना गर्ने व्यक्तित्वको रूपमा रहेको बताए। उनलाई सिक्किमले सुन्न पाउनु महत्वपूर्ण कुरा रहेको बताए।
कार्यक्रममा साहित्यकार पौड्यालले दुई चरणमा कविता वाचन र विचार प्रस्तुति दिएका थिए। चिया कविताका संयोजक प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा कवि जिवीका अश्रु, रूपा तामाङ, भक्ति शर्मा, मणिका शर्मा, कुबेर विष्ट, देवकुमार दुमी, एनबी घिमिरेले कविता पाठ गरेका थिए। कवि सुधा एम राईको बाहुलीबाट चिया गफमा सहभागि बनेका साहित्यकार पौड्याललाई स्मृति चिन्ह प्रदान गरियो।











