दुई दिनमा फसेला नभए श्रमिक संगठनद्वारा सोमबारदेखि गेट मिटिङ गर्ने
दार्जिलिङ: दार्जिलिङ पहाड़को चियाबारी श्रमिकहरूको पूजा बोनस विषयमा बसिएको दोस्रो बैठक पनि असफल बनेको छ। आज बसिएको बैठकमा कुनै फलाफल निस्केनन्। पहाडको चिया श्रमिकहरूको पूजा बोनसको विषयमाथि आज दार्जीलिङ टी ऐसोसिएशन कार्यालयमा दोस्रो चरणको बैठक डाकिएको थियो।आयोजित बैठकमा पहाडको श्रमिक संगठनहरू साथै मालिक पक्षहरूबाट पनि प्रतिनिधिहरू उपस्थित रहेका थिए। चार घण्टाभन्दा लामो चलेको बैठकमा श्रमिक संगठन २० प्रतिशतभन्दा कम स्वीकार नगर्ने अनि मालिक पक्ष २० प्रतिशत पूजा बोनस दिनु नसक्ने बताएपछि बैठकको कुनै फलाफल निस्केन सकेनन्। श्रमिक संगठनहरूले सोमबारभित्रमा बैठक डाकेर पहाडको चिया श्रमिकहरूको पूजा बोनस तय गरिनु पर्ने मांग गरेको छ साथै सोमबारदेखि प्रत्येक चिया बगानहरूमा २० प्रतिशत पूजा बोनसको मांग लिएर गेट मिटिङ गर्ने सबै श्रमिक संगठनहरूले निर्णय लिएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्।
अर्कोतिर दार्जीलिङ चिया श्रमिकहरुको बोनसलाई लिएर दोस्रो चरणको बैठक पनि असफल भएपछि श्रमिक संगठनद्वारा यी दुई दिनमा कुनै फैसला नआएमा सोमबारदेखि गेट मिटिङ गर्ने चेतावनी श्रमिक संगठनद्वारा दिइएको छ भने हिल तराई डुवर्स प्लान्टेसन् वर्कर्स युनियनका कार्यकारी अध्यक्ष जेबी तामाङले अाज बैठकमा तथाकथित मालिक पक्ष तेह्र प्रतिशतदेखि नबढेकोले अाजको बैठक स्थगित भएको भनी जानकारी दिएका छन्।









