चित्रकार सेवन राई प्रथम सिक्किम अकादमी पुरस्कारद्वारा अलङ्कृत

IMG-20250619-WA0048

गान्तोक: युवा चित्रकार सेवन राई प्रथम सिक्किम एकादमी पुरस्कारद्वारा अलङ्कृत भएका छन्। आज स्थानीय चिन्तन भवनमा आयोजित एक समारोहबीच उक्त पुरस्कारद्वारा अलङ्कृत गरिएको हो। सिक्किम सरकारका स्वास्थ्य तथा संस्कृति विभागीय मन्त्री जीटी ढुङ्गेलको मुख्य आतिथ्यमा पुरस्कार अर्पण गरियो। सिक्किम एकादमी गान्तोकले वर्ष २०२४ मा पहिलोपल्ट पुरस्कारको घोषणा गरेको थियो। यसअन्तर्गत सेवन राई चित्रकारिताको क्षेत्रमा सिक्किम एकादमी पुरस्कार प्राप्त गर्ने पहिलो चित्रकार भएका छन्। गान्तोकको सिच्चे निवासी राई पछिल्लो लामो समयदेखि चित्रकारितामा संलग्न छन्। चित्रकारिता विषयमा स्नातकोत्तर गरेका राई हाल दिल्लीको एक यूनिभर्सिटीबाट सङ्ग्रहालय विज्ञान (म्यूजिमोलोजी) विषयमा विद्यावारिधी गरिरहेका छन्। ओभिया आर्ट सर्कल, सिक्किमसित एक दशकदेखि जोड़िएका चित्रकार राईले मोर्डन आर्टमाथि कुची चलाउँदै आएका छन्। सिक्किमको चित्रकारितामा उनले देखाएको गम्भीरतालाई केन्द्र गरेर सिक्किम अकादमीले पुरस्कारद्वारा अलङ्कृत गरेको हो। यसबीच उनलाई नगद एक लाख पाँच हजार रुपियाँसितै ताम्र पत्र अर्पण गरियो। पुरस्कार ग्रहण पछि आफ्नो सम्बोधनमा उनले भने, सिक्किमको चित्रकारिता विभिन्न चुनौतिहरुसंग गुज्रिरहेको छ। ओभिया आर्ट सर्कल र सिक्किम एकादमीको पदक्षेपमा जुन कार्य भइरहेको छ त्यो प्रशंसनीय छ, राईले भने। यस अवसरमा सिक्किम अकादमीद्वारा प्रकाशित गरिएको विभिन्न विधाका जम्मा १२ पुस्तकहरूको विमोचन गरियो। मुख्य अतिथि मन्त्री ढुङ्गेल र अन्य अतिथिहरु पद्मश्रीद्वय सानु लामा, नरेन्द्र गुरुङ अनि मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माको बाहुलीबाट पुस्तकको विमोचन गरियो। कार्यक्रममा जीके शर्माको उपन्यास मूलघर, चुनिलाल घिमिरेको बलिदान नाटक र २२ जना स्वतन्त्रता सेनानीको जीवनी, एसआर सुब्बाको कथा बनेका व्यथाहरु, पूर्ण योञ्जनको हथली का पानी (अनुदित), अमर बानियाँ लोहोरोकृत अन्तर अनन्तर, रत्न लक्सम सुब्बाको बाल तृष्णा, लुइस विष्टको प्रिय जिन्दगी, टीका ढ्ङ्गेलको समीक्षात्म कोशेली, अर्जुन याबाको अभिव्यक्ति अन्तर्वार्ता, एन इन्ट्रोडक्सन एस्ट्रोलोजी इन शेर्पा ल्याङ्वेज, सानु लामाको लोक आधारित गीत एवं वृत्तचित्र र एकादमी जर्नल विमोचन भयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री ढुङ्गेलले सिक्किममा कला अनि संस्कृतिमाथि धेरै काम भइरहेको दाबी गरे। उनले युवाहरुलाई प्रेरित गर्ने सिर्जनात्मक गतिविधिमाथि ध्यान दिने कुरामा पनि जोड़ दिए। मन्त्री ढुङ्गेलले आर्टिफिसियल इन्टिलीजेन्स (एआई) माथि बोल्दै भने, एआईको प्रयोग समयको माग भए तापनि यसबाट हुने नकरात्मकतामाथि ध्यान दिनु जरूरी हुन्छ। कार्यक्रममा सिक्किम एकादमीको पक्षबाट पेश गरिएका विभिन्न मागहरुको जिकिर गर्दै उनले उक्त मागहरुमाथि क्रमवद्धरुपमा पहल गरिने आश्वासन दिए।

About Author

Advertisement