एसकेएम पार्टी सरकारमा आएपछि सोरेङ जिल्लामा विकासको मुल फुटेको छः मुख्यमन्त्री गोले

chak_310

च्याखुङ: सोरेङ जिल्ला अन्तर्गत च्याखुङको खेल मैदानमा आज ७७औं स्वतन्त्रता दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। च्याखुङ खेल मैदानमा आयोजित कार्यक्रममा सहभागी बन्न भन्दा अघि मुख्यमन्त्री तामाङले सोरेङ जिल्ला अन्तर्गत मेन्दोगाउँमा सिक्किम जैविक कृषि विश्वविद्यालयको शिलान्यास गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको कारण देशबासीहरूलाई एकताको सुत्रमा बाँध्न सफल बनेको बताए। प्रधानमन्त्रीको नेतृत्वमा मेरी माटी मेरा देश कार्यक्रम देशभरि शुरू भएको बताउँदै सिक्किमले पनि यस कार्यक्रमलाई सफलतापूर्वक कार्यन्वयन गर्दै आइरहेको बताए। यो कार्यक्रम देशवासीको भावनासँग जोडिएको उनले थप जानकारी गराए। वर्ष १९९४ देखि यस क्षेत्रका जनताको माया पाएर आफू राजनीतिमा अहिलेसम्म टिकिरहेको बताए। यदि उक्त समय आफूलाई विधायक नबनाएको भए अहिले राजनीतिमा हुन नसक्ने जानकारी गराए। यस निर्वाचन क्षेत्रको विधायक हुँदा आफूले निस्वार्थ भावनाले सेवा पुऱ्याएको किटान गर्दै सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका जनताले लगाएको गुण जीवनभरि नभूल्ने बचन दिए। आगामी २०२४ मा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउमा एसकेएम पार्टीको उम्मेदवारलाई भारीमतले जिताउनु पर्ने आग्रह गरे। यदि आफू यस निर्वाचन क्षेत्रबाट उम्मेदवार नभएको कण्डमा दुईवटा विधायक पाउने बताए। चार वर्षको अवधिमा नृत्य,गायन आदि क्षेत्रमा लागिपरेका कलाकारहरूलाई सरकारले प्रोत्साहन गर्दै विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको जनकारी गराए। राज्यका प्रतिभाहरूको निम्ति सरकार सदैव साथमा रहने विश्वास दिलाए। भारत सरकारको नीति आयोगको आंकडाअनुसार सिक्किम भारतको सानो राज्य भएता पनि कम गरिबी भएको तेस्रो राज्य बनेको बताए। राज्यमा हाल २.६० प्रतिशत मानिसहरू गरिब रहेको नीति आयोगको आंकडामा उल्लेख गरिएको अवगत गराए। एसकेएम पार्टी सरकारमा आउन भन्दा अघि राज्यमा ३.८ प्रतिशत गरिबी रहेको बताए। यदि अझ पाँचवर्षसम्म एसकेएम पार्टीलाई सरकारमा ल्यायो भने गरिबमुक्त सिक्किम बनाउने दावी गरे। सिक्किम हेप्पीनेस इन्डेक्समा उत्तरपूर्वी राज्यहरूमा दोस्रो स्थानमा रहेको उनले अवगत गराए। एसकेएम पार्टी सरकारमा आएपछि सोरेङलाई महकुमाबाट जिल्लामा परिणत गरिएको बताए। आगामी दिनमा १३२ करोडको लागतमा जिल्ला प्रशासनिक केन्द्र बनाउने र २३२ करोडको लागतमा अस्पताल बनाउने घोषणा गरे। यसरी नै यस जिल्लामा १४ करोडको लागतमा टाउन हलको निर्माण गरिने बताए। एलडी काजी रिक्रिएसनल इको टुरिज्म एण्ड एडभाञ्चर सेन्टर बनाउने घोषणा गर्दै आगामी दिनमा सम्पन्न बजेट सत्रमा यसको धनराशि छुट्याउने जानकारी गराए। सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै विभिन्न प्रकारको योजना तयार गरेको र यसको लाभ युवाहरूले उठाउनु पर्ने सुझाउ दिए। एसकेएम पार्टीलाई अझ पाँच वर्ष सरकार चलाउने अवसर दिएमा सिक्किम राज्यको कायापलट गर्ने मुख्यमन्त्रीले गरे दावी। सोरेङ र गेजिङ जिल्लालाई डिजिटल जिल्ला बनाउने पनि उनले घोषणा गरे।

यसै क्रममा क्षेत्र विधायक अदित्य गोलेले एसकेएम पार्टी सरकारमा आएपछि सोरेङ जिल्लामा विकासको मुल फुटेको बताए। हाल यस जिल्लामा विभिन्न परियोजनाको निर्माण कार्य शुरू हुनको साथै कतिपय परियोजनाको शिलान्यास भइसकेको अवगत गराए। यस क्षेत्रमा २५ वर्षसम्म हुननसकेको कामहरू एसकेएम सरकारले छोटो अवधिमा गरेर प्रमाणित गरेको उनले दावी गरे। आगामी २०२४ मा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको निम्ति वर्तमान मुख्यमन्त्रीलाई विभिन्न् निर्वाचन क्षेत्रबाट उठाउने प्रयास भइरहेको जानकारी गराए। यदि सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका जनता पून मूख्यमन्त्रीलाई यस क्षेत्रको विधायककोरूपमा देख्न इच्छुक भएमा भारीमतले विजयी गराउनु पर्ने आग्रह गरे। हाल यस जिल्लालाई शिक्षाको केन्द्र बनाउने उद्देश्यले विभिन्न विश्वविद्यालयको शिलान्यास साथै निर्माण कार्य युद्धस्तरमा सम्पन्न भइरहेको किटान गरे।आजको यस कार्यक्रम अन्तर्गत विधायक अदित्य गोलेले यस निर्वाचन क्षेत्रका निम्ति विभिन्न माग प्रस्तुत गरे,जसमा सोरेङमा न्यू कार पार्किङ प्लाजा र सोरेङ, च्याखुङ बजारलाई विकास गर्नुपर्ने बताए। यसरी नै आज नै राज्यका मन्त्री सञ्जीत खरेलले जिल्ला प्रशासनिक केन्द्रको शिलान्यास गरे भने मन्त्री कर्मा लोडे भोटियाले गुम्बा डाँडामा झण्डी डाँडा परियोजनाको पनि शिलान्यास गरे। आजको कार्यक्रममा मन्त्री एमएन शेर्पा, विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसै क्रममा आज २२० जनालाई हाउस अपग्रेडेसनको निम्ति सहयोग राशि प्रदान गरियो। सोही प्रकारले नौ जना विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरियो।गुम्बा,मन्दिर र चर्चलाई पनि आर्थिक सहयोग प्रदान गरियो भने यसरी नै नियुक्ति पत्र पनि मुख्यमन्त्रीको बाहुलीबाट वितरण गरियो। एक परिवार एक नौकरीमा नियुक्ति भएकाहरूलाई चुनाउ अघि स्थायीकरण गरिने मुख्यमन्त्रीले गरे घोषणा।

About Author

Advertisement