कोलकाता: पूर्वी भारतको प्रमुख सुपर स्पेसियालिटी अस्पतालमध्येको एक चारनोक हस्टिपल्सले बुधबार ‘नेशनल डक्टर्स डे २०२६’ भव्य रूपमा मनाएको छ।
बिरामीको सेवामा अहोरात्र खटिने चिकित्सकहरूको कडा मिहिनेत, निस्वार्थ सेवा र समर्पणको सम्मान गर्दै अस्पतालले विशेष कार्यक्रमको आयोजना गरेको हो।
यस वर्षको डक्टर्स डेको नारा (थीम) “मास्क पछाडि: उपचार गर्नेहरूको उपचार कसले गर्छ?” (बिहाइंड द मास्क: हू हील्स द हीलर्स?) तय गरिएको थियो। यस नाराले स्वास्थ्य क्षेत्रमा चिकित्सकहरूले पुर्याएको महत्त्वपूर्ण योगदान र उनीहरूको व्यक्तिगत त्यागलाई उजागर गरेको छ।
कार्यक्रममा राजारहाट–गोपालपुरका विधायक तरुणज्योति तिवारी र पीयूष कनोडिया मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले अस्पतालका उत्कृष्ट कार्य गर्ने वरिष्ठ चिकित्सकहरूलाई सम्मान पत्रसहित सम्मानित गरे। सम्मानित हुनेहरूमा डा. तापब्रत डे (कार्डियोलोजी), डा. जयन्त दत्ता (नेफ्रोलोजी), डा. ए. एन. मुखर्जी (अर्थोपेडिक्स), डा. तपन मुखर्जी (न्यूरोसर्जरी), डा. मानस कुमार मण्डल (यूरोलोजी), डा. निशान्त अग्रवाल (इमर्जेन्सी) र डा. सलिम परवेज (इन्टरभेन्सनल रेडियोलोजी) लगायत रहेका छन्।
६३० बेड, २०५ आईसीयू बेड तथा आधुनिक जर्मन र अमेरिकी प्रविधिले सुसज्जित अपरेसन थिएटर भएको चारनोक हस्टिपल्सले बिरामीहरूलाई विश्वस्तरीय र भरपर्दो उपचार सेवा दिँदै आएको छ। अस्पतालका प्रबन्ध निर्देशक प्रशान्त शर्माले डक्टर्स डेले चिकित्सकहरूप्रति कृतज्ञता व्यक्त गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउँदै आगामी दिनमा पनि अझ सुरक्षित र मानवीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको उल्लेख गरे।









