चाँद एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्न सफल

IMG-20260116-WA0040

खरसाङ: चाँद एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत ३ जनवरीदेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको पहिलो क्वाटर फाइनल खेल शुक्रबार चाँद एफसी र फ्रेण्ड्स क्लब नयाँ बस्तीमाझ सम्पन्न भएको थियो। यस पहिलो क्वाटर फाइनल खेलको पहिलो हाफमा चाँद एफसीको तर्फबाट जर्सी नम्बर ९ आर्यन शर्माले गोल गरेर बढत बनाएका थिए। पहिलो हाफको खेल १-० को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा पनि चाँद एफसीले अधिकांश समय बल खुट्टामा लिएका थिए भने लगातार रुपमा गोल गर्ने प्रयास जारी राखेका थिए। तर फ्रेण्ड्स क्लबको गोल किपर रमेन रोयले लगातार रुपमा रक्षा गर्दै एकभन्दा अधिक गोल हुन दिएन।‌ अर्कोतिर फ्रेण्ड्स क्लबको तर्फबाट पनि केही अवसरहरु सृजना गरे पनि गोल भने गर्न सकेन। निर्धारित समयसम्म पनि फ्रेण्ड्स क्लबले कुनै गोल नगरेपछि खेल १-० को अन्तरले जितेर चाँद एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यस खेलमा गोल गरेर आफ्नो टिमलाई सेमी फाइनलमा प्रवेश गराउने चाँद एफसीको जर्सी नम्बर ९ आर्यन शर्मालाई म्यान अफ् द म्याच घोषित गरिएको छ। उनलाई अतिथिको रुपमा उपस्थित उषाकिरण मल्टिपर्पोस वुमेन्स को-ओपरेटिभ सोसाइटीको को -अर्डिनेटर सीता राईको बाहुलीबाट ट्रफि प्रदान गरिएको छ। अब शनिवार १७ जनवरीमा हुने दोस्रो क्वाटर फाइनल खेल सिविटार एफसी र मिक्स अफ् बोइज खरसाङमाझ सम्पन्न हुने भएको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको‌ नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले‌ सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन हुने भएको छ।

यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ। यस फुटबल टुर्नामेन्टमा अतिथिको रुपमा भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको सचिव पूर्व सैनिक राम थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। त्यसरी नै उषाकिरण मल्टिपर्पोस वुमेन्स को-ओपरेटिभ सोसाइटीको को -अर्डिनेटर सीता राई, सचिव पुनम लामा, आईबी रेखा गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

About Author

Advertisement