अहमदाबाद: अरब सागरमा निर्मित चक्रवात बिपरजोय गुजरातको समुद्र नजिक आइरहेको छ। बिहीबार साँझ कच्छ जिल्लाको जखौ बन्दरगाह नजिक ल्याण्डफल हुने सम्भावना व्यक्त गरिँदैछ। हाल यो ६ किलोमीटर प्रति घण्टाको वेगले अघि बढ़िरहेको छ। चक्रवात अहिले द्वारकाको समुद्र तटदेखि २१० किमी, नलियादेखि २१० किमी, पोरबन्दरदेखि २९० किमी औ जखौदेखि सबैभन्दा नजिक १८० किमीको दूरत्वमा छ। जोखिमलाई मध्यनजर गर्दै राज्य सरकार आफ्नो सम्पूर्ण दलबल सहित तैनाथ भएको छ। राहत अनि बचाउका तयारीहरू पूरा भइसकेका छन्। एनडीआरएफ समेत सबै बचाउ दलहरू घटनास्थलमा पुगिसकेका छन्।
मौसम विभागले १५ र १६ जूनको दिन कच्छ, जामनगर एवं देवभूमि द्वारका जिल्लामा रेड अलर्ट जारी गरेको छ। पवागढ़, सोमनाथ औ द्वारका मन्दिर १५ जूनमा बन्द रहनेछन्। बिपरजोय चक्रवाती तूफान कच्छ तर्फ बढ़्नसाथ समुद्रले आफ्नो रौद्र रूप धारण गरेको छ। समुद्रमा उठेका उच्च-उच्च छालहरूले भयानक दृश्य दर्शाइरहेका छन्। मांडवीको समुद्रमा छालहरू १५ देखि २० फुटसम्म माथि उठिरहेको छ।
अर्कोतिर गुजरातमा चक्रवातको ल्याण्डफल हुने जोखिमलाई ध्यानमा राखेर समुद्र किनार ०-देखि ५ अनि ५ देखि १० किलोमीटरको अन्तरालमा अवस्थित १६४ गाउँका सरपञ्चहरूसित मुख्यमन्त्रीले ड्याशबोर्डको माध्यमबाट बातचित गरे। देवभूमि द्वारका, जामनगर, कच्छ र गिर सोमनाथ जिल्लका समुद्र तटवर्तीय क्षेत्रहरूका मानिसहरूसित निरन्तर सम्पर्क कायम गरिँदैछ।
यस अतिरिक्त बिपरजोयको प्रभावबाट जिल्लामा टेलिकम नेटवर्क भत्किएको खण्डमा मानिसहरूले कुनै पनि टेलिकम नेटवर्कको प्रयोग गर्न सक्नेछन्। दूरसंचार विभागको गुजरात लाइसेन्स सर्भिस एरियाज जीएलएसएले यस सम्बन्धमा सबै आवश्यक उपायहरू पहिलादेखि नै गरिसकेको छ। यसबाट यदि कुनै टेलिकम अपरेटरको सेवा प्रयोग गर्न नपाएको खण्डमा उनीहरूसित अर्को अपरेटरको सेवा प्रयोग गर्ने विकल्प हुनेछ। -हिस









