कोलकाता: शिलोङका लेखक सलील ज्ञवालीद्वारा लिखित विश्वप्रशंसित पुस्तक ‘ग्रेट माइन्ड्स अन इण्डिया’ को उर्दू संस्करण असमका राज्यपाल गुलाब चन्द कटारियाले राजभवन, गुवाहाटीमा विमोचन गर्नुभयो। आसाम, कोलकाता, मेघालय र मणिपुरका प्रतिष्ठित विद्वानहरू र अतिथिहरूको उपस्थितिले पुस्तक विमोचन समारोहको गरिमा बडाएको थियो। कार्यक्रममा, लेखक, सलील ज्ञवालीलाई उनको राष्ट्रमा उल्लेखनीय योगदानको लागि हावडाको डा. एपीजे अब्दुल कलाम फाउन्डेसन, मुस्लिम संस्थाद्वारा ‘डा. एपीजे अब्दुल कलाम राष्ट्र गौरव सम्मान’प्रदान गरिएको थियो। राज्यपालले लेखकलाई औपचारिक रूपमा पुरस्कार प्रदान गर्नुभयो। ज्ञवालीले प्राचीन भारतीय साहित्यको पश्चिमी विद्वानहरूमा गहिरो प्रभावलाई उजागर गर्ने उल्लेखनीय पुस्तक मार्फत देशको लागि विशिष्ट योगदानको लागि राज्यपालले उत्साहपूर्वक प्रशंसा गरे।
‘ग्रेट माइन्ड्स अन इण्डिया’लाई हैदराबादका डाक्टर सैयद हुसैनले उर्दू भाषामा अनुवाद गरेका थिए भने कोलकाताका अब्दुल खालिकले यह पुस्तकको सम्पादन गरेका हुन्। पश्चिम बंगाल, हावडाको डा. एपीजे अब्दुल कलाम फाउन्डेसनद्वारा प्रकाशित पुस्तक अहिलेसम्म जर्मनसहित तेह्र भाषामा अनुवाद भइसकेको छ। यस संगठनले यस उर्दू संस्करणलाई विश्वव्यापी पहुँच र प्रभाव सुनिश्चित गर्दै विश्वका कम्तीमा ६० देशहरूमा वितरण गर्ने वाचा गरेको छ।
अनुसन्धानमा काम गर्ने ज्ञवालीको प्रयास बाल्यकालदेखि नै शुरु भयो जब उनले पश्चिमी बुद्धिजीवीहरूबाट अनौपचारिक रूपमा भारतीय ज्ञान सम्बन्धित सङ्कलन गर्न थाले। तर, सन् १९९५ मा फ्रिटजोफ क्याप्राको दोस्रो पटक ‘द् ताओ अफ फिजिक्स’ र ‘अनकमान विस्डम’ जस्ता प्रख्यात कृतिहरू पढ्दा यी उद्धरणहरू पुस्तकको रूपमै संकलन गर्ने अनि प्रकाशनमा ल्याउने अठोट गरे। आफ्नो मेहनती अनुसन्धानको क्रममा, ज्ञवालीले प्राचीन ग्रन्थको गहिराइको बारेमा उल्लेखनीय खोज गरे। स्क्रोडीन्जर, निल्स बोहर, जुलियस ओपनहिमर, डेभिड बोह्म,हेन्सिन्बर्ग, डेभिड जोशेफसन र अरू धेरैजस्ता वैज्ञानिकहरूले क्वान्टम फिजिक्स, लिन्गुइस्टिक् र अन्य धेरै विधामा भारतको प्राचीन साहित्यबाट महत्त्वपूर्ण प्रेरणा लिएका थिए। त्यसैगरी, भोल्टेयर, जोहान वोल्फगाङ भोन गोएथे, हेगेल, इमर्सन र हेनरी डेभिड थोरौ जस्ता वरिष्ट दार्शनिकहरू वेदान्तको प्राचीन ज्ञानबाट अत्यधिक मोहित थिए। ‘ग्रेट माइन्ड्स अन इण्डिया’ विश्वमा भारतको समृद्ध सांस्कृतिक सम्पदा र बौद्धिक योगदानको प्रमाणको रूपमा खडा छ। यसले भारतको प्राचीन ज्ञानलाई आधुनिक, वैज्ञानिक र दार्शनिक प्रवचनसँग जोड्ने अतुलनीय भूमिका निवारण गरेको छ। -हिस










