झापा: मोरंगको बिराटनगर स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डाक्टर निकिता कार्की, उनी पशुपक्षीलाई अत्यधिक माया गर्ने समूहमा पर्छिन्। उनले आफ्नो ३३औँ जन्मदिन घाइते कुकुरहरु संरक्षण तथा उपचार केन्द्रमा गएर मनाएकी छिन्।
बुधबार परेको जन्मदिनमा उनी विराटनगर महानगरपालिका ५ स्थित थानगाछी नजिकैको साहारा एनिमल केयर हाउसमा पुगिन्। त्यहाँ कुकुरलाई चाहिने खाद्यान्न र भौतिक सामग्रीहरु सहयोग स्वरुप १० बोरा डगफुड, ११ वटा डोनेसन बक्स र जानकारीमूलक ब्रोसर पनि छपाइ दिइन्। हाल उक्त केन्द्रमा ५५ वटा घाइते तथा रोगी कुकुरहरु छन्। साथै घाइते बिरालो र गाईको बाछो पनि राखिएको छ। ती सबै सडकमा घाइते भई बेवारिसे अवस्थामा थिए। डा. रस्मी थापाले अढाई वर्षदेखि यी जनावरहरूको उपचार र पालन पोषण गर्दै आएकी छिन्। उनी नोबेल हस्पिटलकी स्त्रीरोग विशेषज्ञ हुन्। ५ जना कर्मचारी राखेर यो काम गरिरहेकी छिन्। मासिक १ लाख भन्दा बढी खर्च हुने गरेको र अहिलेसम्म आफ्नै व्यक्तिगत खर्चबाट चलाएको उनले बताइन्।
डाक्टर निकिताले आफू लामो समयदेखि पशुपक्षीलाई माया गर्ने गरेको बताए। साथीभाइसँग भन्दा यस्ता घाइते कुकुर भएको ठाउँमा आएर सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको उनले सुनाईन्।










