कोलकाता: पश्चिम बङ्गालमा घरजग्गा (रियल स्टेट) क्षेत्रलाई पुनः चलायमान बनाउन राज्य सरकारले अघि सारेका नीतिगत सुधार तथा सुरक्षा मापदण्डका पहलहरूको क्रेडाई (कॉन्फेडरेशन ऑफ रियल एस्टेट डेवलपर्स एसोसिएशन ऑफ इंडिया) वेस्ट बङ्गालले स्वागत गरेको छ। व्यवसाय प्रवर्द्धन, आयोजना स्वीकृतिको प्रक्रियामा तीव्रता र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले चालेका कदमहरू सकारात्मक रहेको व्यवसायीहरूको भनाइ छ।
घरजग्गा क्षेत्र राज्यको अर्थतन्त्रको मुख्य आधार मानिन्छ। यस क्षेत्रमा वार्षिक रु २०,००० करोडभन्दा बढीको लगानी हुने गरेको छ भने राज्यको राजस्वमा रु ७,५०० करोडको योगदान रहने गरेको छ। कृषि क्षेत्रपछि सर्वाधिक ६० लाख मानिसलाई रोजगारी दिने यो क्षेत्रको विकासले निर्माण, बैङ्किङ तथा वित्तीय क्षेत्रमा सीधा प्रभाव पार्ने क्रेडाईले जनाएको छ।
हालै सरकारले गैरकानुनी रूपमा निर्माण भइरहेका २७ वटा आयोजना पहिचान गरेको सन्दर्भमा क्रेडाईले ती आयोजनामा आफ्ना कुनै पनि सदस्य संलग्न नरहेको स्पष्ट पारेको छ। रेरा (रियल एस्टेट रेगुलेटरी अथॉरिटी) का नियमहरू पूर्ण रूपमा पालना गर्ने बिल्डरहरूलाई मात्र संस्थाको सदस्यता दिइने क्रेडाईका अध्यक्ष सुशील मोहताले बताउनुभयो। उहाँका अनुसार सरकारले भवन सुरक्षाका लागि ल्याएको मानक सञ्चालन प्रक्रिया (एसओपी) र समीक्षाधीन रहेका ५९० आयोजनामध्ये करिब ६० प्रतिशतलाई शीघ्र स्वीकृति दिने तयारीले व्यवसायमा सकारात्मक ऊर्जा थपेको छ।
क्रेडाईले उपभोक्ताहरूलाई आफ्नो लगानी सुरक्षित राख्न केवल रेरा-सूचीकृत र आधिकारिक सदस्यका आयोजनामा मात्र घरजग्गा खरिद गर्न आग्रह गरेको छ। साथै, अभियन्ता वा संरक्षणका नाममा निर्माण व्यवसायीहरूमाथि हुने धम्की र गैरकानुनी असुलीप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता गतिविधिमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।











