ग्राहकको हप्काइपछि लेखनमा लागेका चिनियाँ फुड डेलिभरी ब्वाइले पाए देशकै ठूलो साहित्यिक सम्मान

cff2cc55-ee6e-49d8-9cb0-ba37aa58e2a0

बेइजिङ: चीनमा फुड डेलिभरीको काम गर्ने ५६ वर्षीय वांग जिबिंगले देशको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरूमध्ये एक ‘लू शुन साहित्य पुरस्कार’ प्राप्त गरेका छन्। ‘डेलिभरी पोएट’ का नामले चर्चित जिबिंगलाई उनको कविता सङ्ग्रह ‘लो अल्टीच्युड फ्लाइट’ (लो फ्लाइट) का लागि गत असार ३१ गते (१५ जुलाई २०२६) सो पुरस्कार प्रदान गरिएको हो। यस किताबका धेरैजसो कविताहरू उनले सामान डेलिभरी गर्ने क्रममा पाएको खाली समयमा कागजका साना टुक्राहरूमा लेखेका थिए।
​सन् २०१९ देखि डेलिभरी राइडरको रूपमा काम गर्न थालेका वांगको साहित्यिक यात्रा सन् २०२२ मा ‘म्यान इन ए हरी’ नामक कविता सामाजिक सञ्जालमा भाइरल भएपछि सुरु भएको हो। सन् २०१९ मा जियांगसुको कुनशान सहरमा डेलिभरी गर्ने क्रममा एक ग्राहकले गलत ठेगाना दिएका कारण उनले १८ तलासम्म सिँढी चढ्नुपरेको थियो र ढिलो पुग्दा ग्राहकबाट हप्काइ खानुपरेको थियो। सोही पीडालाई शब्दमा उतारेपछि उनको कविता भाइरल बन्यो र सन् २०२३ मा उनको पहिलो कविता सङ्ग्रह प्रकाशित भयो।
​हालसम्म ६ हजारभन्दा बढी कविता लेखिसकेका वांगले पुरस्कार जिते पनि आफ्नो डेलिभरीको काम नछोड्ने र ६० वर्षको उमेरसम्म यसलाई निरन्तरता दिने बताएका छन्। उनी महिनाको ६ हजार युआन (करिब ८५ हजार रुपैयाँ) कमाउँछन्। चीनमा पछिल्लो समय वांग जस्तै मजदुर वर्गका लेखकहरूको पहिचान बढ्दै गएको छ, जसले गिग इकोनोमीमा काम गर्ने लाखौँ मानिसहरूको संघर्षलाई बाहिर ल्याइरहेका छन्।
​चीनका महान साहित्यकार लू शुनको नाममा स्थापित यो पुरस्कार प्रत्येक ४ वर्षमा ‘चाइना राइटर्स एसोसिएसन’ द्वारा प्रदान गरिन्छ र यसलाई चिनियाँ मूलधारको साहित्यको सबैभन्दा ठूलो मापदण्ड मानिन्छ।

About Author

Advertisement