ग्याल्सिङ: नाबार्ड क्षेत्रीय कार्यालय सिक्किमले जिल्लामा कृषि तथा ग्रामीण विकाससम्बन्धी सेवालाई थप सुदृढ बनाउने उद्देश्यले ग्याल्सिङको नवौँ माइलमा जिल्ला विकास प्रबन्धक (डिडिएम) कार्यालय स्थापना गरेको छ।
उक्त कार्यालयको उद्घाटन ग्याल्सिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाले मुख्य अतिथिका रूपमा गर्नुभयो। कार्यक्रममा नाबार्ड सिक्किमका महाप्रबन्धक तथा कार्यालय प्रमुख मनोहर लालको समेत उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्लापाल डेन्जोङ्पाले ग्याल्सिङमा समर्पित कार्यालय स्थापना गरेकोमा नाबार्डलाई बधाई दिनुभयो। यस कार्यालयको स्थापनासँगै जिल्ला प्रशासन र नाबार्डबीचको समन्वय थप प्रभावकारी भई विकास निर्माणका कार्यक्रमहरू द्रुत गतिमा अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। जिल्लापालले नवनियुक्त जिल्ला विकास प्रबन्धकलाई उप-विभागीय अधिकारी, ब्लक विकास अधिकारी, जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतहरूसँग निरन्तर समन्वयमा रहन र प्रत्येक तीन महिनामा जिल्ला प्रशासनलाई प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा नाबार्डका महाप्रबन्धक मनोहर लालले ग्रामीण पूर्वाधार, वित्तीय समावेशीकरण, स्वयम् सहायता समूह (एसएचजी) र कृषक उत्पादक सङ्गठन (एफपिओ) मार्फत कृषि तथा सम्बद्ध क्षेत्रको प्रवर्द्धनमा नाबार्डले खेल्दै आएको भूमिकाबारे प्रकाश पार्नुभयो। स्थानीय आवश्यकता पहिचान गरी नाबार्डका योजनाहरूलाई समयमै कार्यान्वयन गर्न नयाँ कार्यालयले महत्त्वपूर्ण सहयोग पुर्याउने उहाँले बताउनुभयो।
समारोहमा पशुपालन विभागका अतिरिक्त निर्देशक बीबी सुब्बा, सहकारिता विभागका सह-रजिस्ट्रार लाडेन गेन्सापा, कृषि विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक भिषण प्रधान, नाबार्डका सहायक महाप्रबन्धक रूपेन लामिछाने र मेवाङ लोवाङलगायतले डिडिएम कार्यालय र विभागीय निकायहरूबीचको सहकार्यले ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउने धारणा राख्नुभयो। नयाँ स्थापना गरिएको यस कार्यालयले जिल्लाका सरकारी निकाय, वित्तीय संस्था र समुदायस्तरका सङ्गठनहरूसँग निकट रहेर काम गर्ने अपेक्षा गरिएको छ।









