गोर्खा जन पुस्तकालय खरसाङको नयाँ कार्यकारिणी समिति गठन

b42ccad0-ea09-4e42-91b6-22144b4394ab

आईएन शर्मा सभापति अनि गोमा सुब्बा महासचिव निर्वाचित

खरसाङ: गोर्खा जातीय धरोहर गोर्खा जन पुस्तकालय, खरसाङको नयाँ कार्यकारी समिति गठन गरिएको छ। पुस्तकालयको नव निर्वाचित सत्र सदस्यीय कार्यकारिणी समितिको विशेष सभा आईतवार निजी भवनमा सम्पन्न भयो। वरिष्ठ कार्यकारिणी सदस्य साथै पूर्व सभापति तिलक शर्माको अन्तरिम सभापतित्वमा सम्पन्न सभाको आरम्भमा हालै सप्पन्न चुनाउमा निर्विरोध निर्वाचित कार्यकारी सदस्यहरुलाई पद अनि गोपनीयताको शपथ ग्रहण गराइयो अनि आउँदो तीन वर्षको निम्ति पदाधिकारीहरु चयन गरियो। सभामा सर्वसम्मतिद्वारा सभापति आइ. एन. शर्मा, उप सभापतिद्वय प्रकाश प्रधान अनि विनोद रसाइली मूल सचिव गोमा सुब्बा, सह सचिवद्वय निरङ्कर थापा अनि सजित खाइबा अनि कोषाध्यक्ष उत्तमकुमार गुरुङलाई चयन गरियो।समितिमा कार्यकारी सदस्यहरु क्रमैले तिलक शर्मा, कृष्ण पाण्डे, प्रदीप शेर्पा, पारसचन्द्र आले, सी. बी. आले, आशा मुखिया लामा, उषाकिरण तामाङ, प्रणिता मुखिया घिसिङ, मिना लामा राई अनि पासाङ लक्की शेर्पा रहेका छन्। सभामा गोर्खा जन पुस्तकालयको ११३ वर्षको इतिहासमा पहिलो नारी महासचिवको गरिमामय पदमा गोमा सुब्बा चयन भएकोमा सबैले हर्ष प्रकट गरे। नवनिर्वाचित मूल सचिव गोमा सुब्बाले उपस्थित सबैप्रति आभार प्रकट गर्दै आफ्नो काँधमा थप दायित्व आएको बताइन्। उनले सबैको आशिर्वाद र सहयोग लिएर पुस्तकालयको श्रीवृद्धिमा आफु लागि पर्ने मन्तव्य प्रकट गरिन्। सभामा नवनिर्वाचित सभापति आईएन शर्मा अनि अन्तरिम सभापति तिलक शर्माले पनि सम्बोधन गरेका थिए। पूर्व सचिव एवम् संयोजक विनोद रसाइलीद्वारा सञ्चालित सभामा संविधानअनुरुप थप चारजना सदस्य सर्वसम्मतिद्वारा मनोनीत पनि गरियो।

About Author

Advertisement