सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत रंगबुल धोतरिया रंगबुक समष्टिको धोतरिया कलेज भेल्ली ग्राम पञ्चायत कमिटीले ग्राम पञ्चायतसँग जनसरोकारका विषयमा महत्वपूर्ण छलफल गर्दै ज्ञापन पत्र बुझाएको छ।गोरामुमो सुके ब्लक कमिटीका प्रचार प्रसार सचिव आरके दर्नालका अनुसार कमिटीका प्रतिनिधिहरूले धोतरिया कलेज भेल्ली ग्राम पञ्चायतका प्रधान, पञ्चायत समितिका सदस्य तथा ग्राम पञ्चायत सचिवसँग सौहार्दपूर्ण भेटघाट गरी विभिन्न जनहितका विषयमा विस्तृत छलफल गरेका थिए। सो अवसरमा पञ्चायतसमक्ष जनताको हितसँग सम्बन्धित मागहरू समेटिएको ज्ञापनपत्र पनि हस्तान्तरण गरिएको थियो।
भेटघाटका क्रममा आगामी दिनमा ग्राम पञ्चायतमार्फत आउने सरकारी योजना तथा सहुलियतहरू पूर्ण पारदर्शिताका साथ सञ्चालन गर्ने, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग आवश्यक सरसल्लाह गरी वास्तविक आवश्यकताका आधारमा योजनाहरू कार्यान्वयन गर्ने विषयमा सहमति भएको बताइएको छ। त्यसैगरी, सरकारी सेवा सुविधाबाट वञ्चित रहेका विपन्न तथा आवश्यकतामा रहेका सर्वसाधारणसम्म सरकारी सहुलियत पुग्ने वातावरण बनाउन पञ्चायत र स्थानीय प्रतिनिधिहरूले समन्वयात्मक रूपमा कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
उक्त भेटघाट कार्यक्रममा गोरामुमो धोतरिया कलेज भेल्ली ग्राम पञ्चायत कमिटीका अध्यक्ष चन्द्र लामा ,उपाध्यक्ष वसन्त तामाङ , सचिव अन्जान थुलुङसहित कमिटीका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।










