गोजमुमो अध्यक्ष बिमल गुरुङ जयगाउँमा

0d82a5b6-411a-4fce-a493-209eaa63f375

कालचिनीः डुवर्सको राजनैतिक परिदृश्यमा नेपालीभाषी गोर्खे नेताहरूको धरातल खस्कन्दो अवस्थाबीच यहाँका मूलाधारका राजनैतिक दलहरूमा ओजनदार गोर्खे नेताहरूले स्थान नपाईरहेको स्थितिबीच धेरै उकुसमुकुसतामा गोर्खेहरूको मन्थन येन केन चलिरहेको छ। यसबीच जहाँ एकातिर केन्द्रको भाजपा सरकारले गोर्खाहरूको स्थायी राजनैतिक समाधानबारे मौनता साधेर बसेकोले विस्तारै गोर्खाजातिले भाजपाप्रति उदासीनता देख्न थालेका छन् भने अर्कोतिर आउँदो २०२४ को लोकसभा चुनाउलाई हेरेर अहिले गोर्खाहरूको प्रत्यक्ष समर्थन पाउन अन्य राजनैतिक दलहरूले पनि गोर्खे नेताहरुसित सम्पर्क बढ़ाउन थालेको कसैबाट लुकेका छैनन्। यसै उकुसमुकुसतामाबीच गोजमुमो अध्यक्ष बिमल गुरुङले विभिन्न रणकौशल लिएर फेरि डुवर्समा पाइला सारेका छन्। सोमबार यसै क्रममा गोजमुमो अध्यक्ष बिमल गुरुङ डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने भारत भोटाङ सीमान्त जयगाउँमा आएका छन्। जयगाउँको मंगलाबारी स्थित गोर्खा भवनमा सोमबार आईपुगेका बिमल गुरुङले पत्रकारहरूसित सम्मुखिन हुँदा कतिपय महत्वपूर्ण सभा लिएर जयगाउँ आएको बताएका छन्।
अध्यक्ष बिमल गुरुङले सभाबारे खुलेर केही नबताएता पनि मंगलाबार डुवर्सको कतिपय संघ संस्था एवम् समुदायहरूसित बैठक हुने संकेत सुत्रबाट थाह लागेको छ। पत्रकारहरूसित कुराकानी गर्दै गुरुङले गोर्खाल्यान्ड मुद्दा लिएर आफू अझै अडिग रहेको जनाएका छन्। डुवर्समा गोर्खाहरूलाई विस्तारै यहाँका शासकदल र अरुले पन्साउन थालेको र गोर्खे दाजु भाईहरू पनि सबै दाल भात जुराउने राजनीतिमा सीमित भएको दुखलाग्दो स्थिति देखा परिरहेको बताए। गोर्खाहरूले विभिन्न राजनीति गरे पनि आफ्नो जाति बिर्सने राजनीति चैँ गर्नु नहुने र यस्तै कुराहरू जान्न र यहाँका पुरानो दाजु भाईहरूसँग भेटघाट गर्न आएको जनाएका छन्। भाजपामाथि अब विश्वास गर्न नसक्ने भएकोले आगामी लोकसभा चुनाउमा गोजमुमोले के गर्नुपर्ने कसलाई समर्थन गर्नुपर्ने यो सबै रणनीति तयार गरिरहेको र समय आए यसको खुलासा गरिने जनाएका छन्। मंगलाबार दलसिंहपाड़ामा एउटा सभामा अंशग्रहण गरेर गोजमुमो अध्यक्ष बिमल गुरुङ दार्जीलिङ फर्कने विज्ञ सुत्रबाट थाह लागेको छ।

About Author

Advertisement