खरसाङ: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिले पार्टीको एकता, संगठनको सुदृढीकरण तथा गोर्खा जातिको साझा हितलाई सर्वोपरि ठानी गम्भीर विचार-विमर्श पश्चात् सोनाम याक्खा तथा अनिल लोप्चनमाथि जारी गरिएको निष्कासन आदेश फिर्ता लिने निर्णय गरेको छ। उनीहरूद्वारा पार्टीको आदर्श, सिद्धान्त तथा आन्दोलनप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै केन्द्रीय समितिले उनीहरूको पार्टी सदस्यता पुनः बहाल गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै सोनाम याक्खा र अनिल लोप्चन गोर्खा जनमुक्ति मोर्चाका सक्रिय सदस्यको रूपमा पुनः स्थापित हुनेछ र पार्टीभित्रका सम्पूर्ण अधिकार, जिम्मेवारी तथा कर्तव्यहरू वहन गर्न सक्षम हुनेछन् भनी गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यालय सचिव दिपेन देवानले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले भने, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकहरूलाई संगठनात्मक एकता, अनुशासन र आपसी सद्भाव कायम राख्दै उहाँहरूसँग समन्वय गरी पार्टीलाई अझ बलियो बनाउन अनुरोध गरिन्छ।’
यस विषयमा उनले भने, ‘यो निर्णय मेलमिलाप, संगठनात्मक एकता तथा गोर्खा जनताको अधिकार र आकांक्षाको आन्दोलनलाई अझ सशक्त बनाउने उद्देश्यले गरिएको हो। पार्टीले भविष्यमा पनि संगठनको हितलाई केन्द्रमा राखी सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।
उक्त निर्णय तत्काल प्रभावबाट लागू हुनेछ र केन्द्रीय समितिको निर्णय अन्तिम मानिनेछ।’










