गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशनको आयोजनामा गेजिङको क्योङ्सास्थित भारतीय नेपाली साहित्यिक एवं संस्कृति अनुसन्धान केन्द्रको प्रेक्षागृहमा अन्तर विद्यालय चित्रकला अनि श्रुति लेखन प्रतियोगिता सम्पन्न भएको थियो। यस प्रतियोगितामा गेजिङ जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए। चित्रकला प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता र कलात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गरे। रंगहरूको सुन्दर संयोजन र विविध विषयवस्तुहरू चित्रण गरेर उनीहरू निर्णायकहरूको मन जित्न सफल भए। त्यसैगरी, श्रुति लेखन प्रतियोगितामा विद्यार्थीहरूले आफूले सुनेको विषयलाई छिटो र स्पष्ट रूपमा लेख्ने चुनौतीको सामना गरे। सो कार्यक्रम नजिकैको शिक्षण तालीम केन्द्रमा सम्पन्न भएको थियो। उनीहरूले सुनिएका शब्दहरूलाई सटीक रूपमा टिपोट गर्दै आफ्नो लेखन कौशल प्रस्तुत गरे। निर्णायकहरूले विद्यार्थीहरूको लेखन क्षमताको मुल्यांकन गर्दै विजेताहरूको चयन गरे। यो प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने महत्त्वपूर्ण प्लेटफर्म बनेको छ। सहभागी विद्यार्थीहरूले आफ्नो सीप र क्षमता प्रर्दशन गर्न पाउँदा अत्यन्तै खुशी व्यक्त गरेका छन्। विजेता विद्यार्थीहरूलाई आगामी २० अगस्तको दिन ३३औं नेपाली भाषा मान्यता दिवसको कार्यक्रममा प्रमाणपत्र र पुरस्कार वितरण गरिनेछ । यसबाहेक अनुसन्धान केन्द्रमा तर्क प्रतियोगिताको सेमिफाइनल राउन्ड सम्पन्न भएको थियो जसमा पेलिङ वरिष्ठ माध्यमिक विद्यालय र गेजिङ कन्या वरिष्ठ माध्यमिक विद्यालयले फाइनल राउन्डमा प्रवेश गरेको छ। आजको कार्यक्रमका मुख्य अतिथि पेलिङ पर्यटन विकास संघका अध्यक्ष नारायण खतिवडा रहेका थिए भने निर्णायक मण्डली साहित्यकार , विद्यालयका प्राचार्य विद्यार्थी र शिक्षकहरुको उपस्तिथि रहेको थियो। कार्यक्रममा अन्तर विद्यालय शिक्षक – शिक्षिकाहरुको साहित्य गोष्ठी प्रतियोगिता सम्पन्न भयो जसमा प्रथम, दोस्रो, अनि तेस्रो प्रतियोगीलाई छनौट गरेको छ। आयोजकहरूले प्रतियोगिताको सफलताप्रति खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










