गुजरात एटीएसले अलकायदा इण्डियाका थप दुई सदस्यलाई समात्यो

nat-1

अहमदाबादः गुजरात एन्टी टेररिस्ट स्क्वाड (एटीएस)-ले अलकायदा इण्डियाको एक सक्रिय गिरोहको भण्डाफोर गरेको छ। उक्त संगठनसित सम्बन्धित दुई आरोपीलाई पक्राउ पनि गरिएको छ। पक्राउ परेका आरोपीहरूको पहिचान बंगलादेश निवासी आकाश खान र मुन्ना खानको रूपमा भएको छ। यसअघि पनि पुलिसले सोजिब मियाँलाई पक्राउ गरेको थियो। आकाश र मुन्ना यसै समूहका सदस्य रहेको बताइएको छ।

एटीएस गुजरातले अहमदाबादको नारोल तथा रखियाल क्षेत्रमा बस्दै आएका मुन्ना खान र आकाश खानलाई पक्राउ गरेको छ। यिनीहरूले बंगलादेशबाट भारतमा अनुप्रवेश गरी गुजरातका युवाहरूलाई कट्टरपन्थी बनाउने अभियानमा काम गरिरहेको पुलिसको आरोप छ। आरोपीहरूले धेरैजनाबाट फण्ड संग्रह गरेको प्रमाण पनि पुलिसको हातमा परेको छ। यहाँबाट संग्रहित फण्डलाई आकाश खानले बंगलादेशमा पठाउँथ्यो।

एटीएस गुजरातले यी दुईलाई समातेपछि अलकायदा इण्डियाको एक सक्रिय गिरोहको भण्डाफोर भएको छ। एटीएसले सबैभन्दा पहिला सोजिब नामक बंगलादेशीलाई पक्राउ गरेको थियो। उसित भएको जाँचबुझमा अन्य दुई आरोपीको बारेमा खुलासा भएको थियो जसलाई पुलिसले गिरफ्तार गरेको छ। सोजिब मियाँलाई बंगलादेशमा बसेका आफ्ना मुखियाहरूको निर्देश हुन्थ्यो र त्यै अनुसार उसले गुजरातका युवाहरूलाई कट्टरपन्थी बनाउने प्रशिक्षण दिँदै आएको थियो।

गुजरात एटीएसका डीआईजी दिपेन भद्रनले बताए, पुलिसलाई सूचना प्राप्त भएको थियो कि चार बंगलादेशी नागरिकहरू क्रमैले सोजिब मियाँ, आकाश खान, मुन्ना खान, अब्दुल लतिफ अवैध रूपले अहदाबादमा बस्दै आएका छन्। यिनीहरूले गलत कागज-पत्र प्रयोग गरेका छन्। यिनीहरूले अल कायदासित मानिसहरूलाई आबद्ध गराउने प्रयास गर्दछन्। युवकहरूलाई हतियारको प्रशिक्षण दिएको कुरा पनि जाँचमा थाहा लागेको छ। यसको लागि विभिन्न सोशल मीडिया र एप्लिकेशनहरूको प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको थियो। यसैको आधारमा जाँच शुरू गरिएको हो।

-हिस

About Author

Advertisement