खरसाङ : युवा गायक प्रणय गुरुङको सोल्टिनी विमोचन गरिएको छ। गायक प्रणय गुरुङको स्वर अनि सङ्गीत तथा पुष्कर सिंगर र कुशल घिमिरेको शब्दमा रहेको सोल्टिनी गीत आज खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा विमोचन गरिएको छ। निरङ्कर थापाको अध्यक्षता र समाजसेवी बिक्रम राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गायक कर्म शेर्पा, गीतकार एलबी थापा, साहित्यकार विनोद रसाइली, प्रदीप शेर्पा, राजा पुनियानी, सुरज रोसुरी लगायत अन्यहरू उपस्थित थिए। सञ्जीव छेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्भाषण कलाकार पुष्कर सिंगरद्वारा राखिएको थियो। यसै कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बिक्रम राईको बाहुलीबाट सोल्टिनी म्युजिक भिडियो सार्वजनिक गरिएको छ भने यसको प्रिमियर पनि गरिएको छ।

कार्यक्रममा प्रसिद्ध गायक कर्म शेर्पाले वर्तमान समयमा कलाकारहरूको अवस्था विषयमा वक्तव्य राखेका थिए। उनले कलाकारहरूलाई सम्बर्ध्दना गरेर मात्र हुँदैन तर कलाकारहरू पनि बाँच्नुपर्छ त्यसैले कलाकारहरूको उचित मूल्याङ्कन हुनुपर्छ भन्दै समाज र दर्शकहरूको पनि माया चाहिन्छ भनी बताएका छन्। कार्यक्रममा सोल्टिनी म्यूजिक भिडियोका गायक तथा सङ्गीतकार प्रणय गुरुङले म्यूजिक भिडियो सोल्टिनीलाई सहयोग र साथ दिने सबै कलाकारहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । यस अवसरमा गायक प्रणय गुरुङकी माताको बाहुलीबाट खदार्पणसहित सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बिक्रम राईले सम्बोधन गर्दै सोल्टिनी टिमलाई राम्रो कामको लागि बधाई दिएका छन्। कार्यक्रममा विभिन्न क्षेत्रहरूबाट कलाकारहरू उपस्थित रहेका थिए। यो म्यूजिक भिडियो सोल्टिनीमा नायक तथा निर्देशम मञ्जित दियालीको रहेको छ भने नायिका आयसा तामाङ रहेका छन्। त्यसरी नै छाँयाकन तथा सम्पादन राजीव खवास र सुभम गुरुङको रहेको छ। यस म्यूजिक भिडियोको प्रबन्ध निर्देशक महेश खवास थिए। प्रणय गुरुङको स्वर र सङ्गीतमा रहेको यस म्यूजिक भिडियोमा शब्द पुष्कर सिंगर र कुशल घिमिरेको रहेको छ। गायक प्रणय गुरुङको पहिलेबाटै नेपाली साङ्गीतिक क्षेत्रमा ‘पदार्पण’ नामक एल्बम प्रकाशित छन् भने उनको ‘हँसाउनु मात्र माया का हो र’ ‘मख्खै बनायो’ जस्ता गीतहरू निक्कै लोकप्रिय बनेका छन्। उनले थुप्रै साङ्गीतिक एल्बमहरूमा आफ्नो स्वर र सङ्गीत दिईसकेका छन्। उनी लगातार रूपमा साङ्गीतिक यात्रामा लागिपरेका छन्।










