गान्तोक: गान्तोक नगर निर्वाचनअन्तर्गत एक मात्र प्रतिस्पर्धात्मक वार्डको मतगणना जिल्ला प्रशासन केन्द्र, गान्तोकमा सम्पन्न भयो। मतगणना निर्वाचन अधिकृत तथा जिल्ला कलेक्टर तुषार निखारेको उपस्थितिमा सम्पन्न गरियो।
त्यस अवसरमा निर्वाचन पर्यवेक्षक तथा संस्कृति विभागका सचिव बसन्त लाम, सहायक निर्वाचन अधिकृत तथा अतिरिक्त जिल्ला कलेक्टर (मुख्यालय) छिरिङ नोर्ग्याल थेङ, सहायक निर्वाचन अधिकृत तथा अतिरिक्त जिल्ला कलेक्टर गान्तोक सिसुम वाङचुक भुटिया, गान्तोकका प्रहरी अधीक्षक महेन्द्र सुब्बा, अतिरिक्त प्रहरी अधीक्षक प्रवीण लामिछाने, संयुक्त आयुक्त गान्तोक नगर निगम पेमा वाङचुक, उपनिर्देशक जिल्ला आपतकालीन व्यवस्थापन प्राधिकरण बिजयता खरेल, उपसचिव निर्वाचन कोष डोल्मा रसाइली, सहायक कलेक्टर गान्तोक भवेश ख्यालिया, निर्वाचन आयोगका प्रतिनिधिहरू, प्रत्याशी प्रतिनिधिहरू तथा निर्वाचन कार्यमा संलग्न कर्मचारीहरू उपस्थित थिए।
निर्वाचन परिणामअनुसार १० नम्बर डीजेल पावर हाउस (अनारक्षित) वार्डको मत परिणाम यसप्रकार रहेको छ:~
क. श्रीमती सृजना क्षेत्री (भारतीय जनता पार्टी) मतदान केन्द्र १ – २७७ मतदान केन्द्र २ – १७२ मतदान केन्द्र ३ – ४४५ डाक मतपत्र – ५ कुल मत – ८९९
ख. श्रीमती बिन्द्या सिन्तुरी (स्वतन्त्र) मतदान केन्द्र १ – १७० मतदान केन्द्र २ – ५२ मतदान केन्द्र ३ – १६१ डाक मतपत्र – १ कुल मत – ३८४
कुल २,८६२ मतदातामध्ये १,३२७ मत खसेको थियो, जसमध्ये १,२८३ मत वैध ठहरिएको छ। ४२ मत नोटा अन्तर्गत परेको थियो भने २ डाक मतपत्र अमान्य घोषित गरियो।
मतगणना सम्पन्न भएपछि प्रयोग गरिएका इलेक्ट्रोनिक मतदान यन्त्रहरू सुरक्षाकर्मीहरूको उपस्थितिमा बिहान ९ बजेर २५ मिनेटमा सुरक्षित रूपमा सिलबन्दी गरी स्ट्रङ्ग रुममा राखियो।
निर्वाचन अधिकृत तथा जिल्ला कलेक्टर तुषार निखारेले श्रीमती सृजना क्षेत्रीलाई गान्तोक नगर निगमअन्तर्गत १० नम्बर डीजेल पावर हाउस वार्डको निर्वाचित पार्षद घोषणा गर्दै प्रमाणपत्र प्रदान गरे।
उनले आगामी मे २ तारिखमा गान्तोक नगर निगम तथा सिङ्ताम नगर पंचायतको शपथ ग्रहण समारोह आयोजना गरिने पनि जानकारी दिए।









