गान्तोकमा २२ जनवरीको दिन रामोत्सव आयोजना गरिने

Screenshot_20240103_200422_Photos.jpg

गान्तोक: अयोध्याको राम मन्दिर प्राण प्रतिष्ठा समारोहलाई भव्यता दिन सिक्किमले रामोत्सव मनाउने भएको छ। यसका लागि गान्तोकमा रामोत्सव समिति गठन गरिएको छ जसले २२ जनवरीका दिन एउटा समारोह गान्तोकमा आयोजन गर्ने बताएको छ।

रामोत्सव समितिमा अहिलेसम्म 62 सदस्य जोडिएका र उनीहरूको सबैको साझा प्रयासमा २२ जनवरीको दिन शोभायात्रा, बाइक ऱ्याली, पूजा र शहर परिक्रमा गरेर रामोत्सव पालन गर्ने समितिका अध्यक्ष रमेश पेरिवालले जानकारी दिएका छन्। रामोत्सव समितिले बुधबार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर सबैलाई समारोहको साक्षी बनिदिन आग्रह गरेको छ।

२२ जनवरीको रामोत्सव समारोहलाई सफल बनाउन रानीपुलबाट एउटा बाइक ऱ्याली गरेपछि गान्तोकको भानु उद्यानमा सबै भेला भएर शोभायात्रा आयोजन गर्ने समारोह समितिले बताएको छ। शोभायात्रा भानु उद्यानबाट शुरु गरेर जिरो पोइन्ट र तिब्बत रोड हुँदै एमजी मार्गको परिक्रमा गरेपछि सबैले ठाकुरबाडी मन्दिरमा पूजा गर्ने अध्यक्ष रमेश पेरिवालले जानकारी दिएका छन्। रामोत्सवका लागि टाइटेनिक पार्कमा राम मन्दिरको स्थापना गरिने पनि उनले बताए।

अर्कोतिर अयोध्याको मुख्य समारोहको मानिसहरूलाई साक्षी बनाउन मुख्य समारोहको लाइभ टेलिकास्ट प्रसारणको व्यवस्था पनि मिलाइने उनले जानकारी दिए। गान्तोकमा आयोजन गरिने रामोत्सवमा भाग लिन सिक्किमका सबै जाति समुदाय र विभिन्न धर्मावलम्बीलाई निमन्त्रणा गरिने उनले बताएका छन्। रामोत्सवमा भाग लिने सबैलाई आयोजकले प्रसाद वितरणको व्यवस्था गर्ने भएको छ। यस दिन घर-घर दीप उत्सव मनाउन पनि समितिले आग्रह गरेको छ।

About Author

Advertisement