गान्तोकमा तेस्रो जिल्ला एथलेटिक्स प्रतियोगिता सुरु

FB_IMG_1778347921133

गान्तोक: तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ शुक्रबारदेखि रेसिथाङ खेल गाउँ मा सुरु भएको छ। गान्तोक जिल्ला एथलेटिक्स संघ द्वारा आयोजित दुईदिने प्रतियोगिताको उद्घाटन सहभागी टोलीहरूको मार्चपास, मशाल प्रज्वलन तथा खेलाडीहरूको शपथ ग्रहणसहित गरिएको हो।

प्रतियोगितामा जिल्लाभरका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित टीटी भोटिया ले खेलकुद क्षेत्रसँग जोडिएका प्रशिक्षक, वरिष्ठ खेलाडी र अधिकारीहरूसँग महत्त्वपूर्ण अनुभव तथा ज्ञान हुने भएकाले युवा खेलाडीहरूले उनीहरूको सुझाव र मार्गदर्शनलाई ध्यानपूर्वक लिनुपर्ने बताए।
उनले आफूले सिक्किम आर्चरी एसोसिएसन को अध्यक्षका रूपमा २७ वर्ष सेवा गरेको उल्लेख गर्दै राज्यमा खेलकुदसँग लामो सम्बन्ध रहेको बताए। फुटबल, भलिबल र टेबल टेनिसप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उनले सिक्किममा खेलकुद गतिविधि तीव्र रूपमा विस्तार भइरहेको धारणा राखे।

भोटियाले युवाहरूलाई एथलेटिक्ससहित विभिन्न खेलकुद गतिविधिमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै प्रतियोगिताबाट भविष्यका प्रतिभाशाली खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई लागूपदार्थ तथा अन्य हानिकारक पदार्थबाट टाढा रहनसमेत सुझाव दिए।
प्रतियोगिताअन्तर्गत विभिन्न उमेर समूह तथा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ। आयोजकका अनुसार प्रतियोगिताले उदीयमान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।

About Author

Advertisement