पीएम पोषण र समग्र शिक्षामा जोड
गान्तोक: उत्तर-पूर्वी राज्यहरूमा सञ्चालित ‘पीएम पोषण’ र ‘समग्र शिक्षा’ अभियानको समीक्षा बैठक सिक्किमको राजधानी गान्तोकमा सम्पन्न भएको छ। शिक्षा मन्त्रालय (भारत सरकार) का सहसचिव आशिष जोशीको अध्यक्षतामा अक्टोबर ९ र १० मा आयोजित दुई दिने बैठकमा उत्तर-पूर्वी राज्यका शिक्षा विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा पीएम पोषण योजनाअन्तर्गत भएका प्रगति, बजेटको उपयोग र अनुगमन प्रणालीलाई चुस्त बनाउने विषयमा गहन छलफल भयो। साथै, अक्टोबर १० मा आयोजित समग्र शिक्षासम्बन्धी बैठकमा विभिन्न राज्यहरूले अपनाएका नवीन अभ्यास, जगैदेखिको साक्षरता तथा गणितीय दक्षता (एफएलएन), समावेशी शिक्षा र प्रविधिको प्रयोगबारे अनुभव आदानप्रदान गरिएको थियो।
यसअघि अक्टोबर ८ मा सिक्किम भ्रमणका क्रममा सहसचिव जोशीले सिक्किमका शिक्षा सचिव टासी छोपेलसहितको टोलीसँगै पिएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय (सिंगताम), अहो पुल किसान माध्यमिक विद्यालय, डाइट (गान्तोक), एससीइआरटी (बुर्तुक) तथा भिजोगहरी वरिष्ठ माध्यमिक विद्यालयको निरीक्षण गरेका थिए। सो क्रममा टोलीले विद्यालयको शैक्षिक अवस्था, शिक्षक तालिम र पूर्वाधार प्रवर्द्धनका प्रयासहरूबारे जानकारी लिएको थियो।

बैठकमा सिक्किमका शिक्षा विभागका प्रमुख सचिव सन्दीप ताम्बे, सचिव टासी छोपेल, समग्र शिक्षाका निर्देशक अम्बर दास लगायत विभिन्न राज्यका उच्च अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै अधिकारीहरूले उत्तर-पूर्वी क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र केन्द्रीय योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि साझा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।





