१४,२१४ मतदाता ‘अनुपस्थित’ सूचीमा
गान्तोक: गान्तोकका जिल्ला निर्वाचन अधिकारी (डीईओ) तथा जिल्लापाल रोहन अगवानेले ‘विशेष सघन पुनरीक्षण (एसआईआर) २०२६’ को प्रगति र जिल्लामा इन्युमरेसन फारम (ईएफ) डिजिटलाइजेसन प्रक्रिया सम्पन्न भएको विषयमा आज आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरेका छन्। जिल्लापाल अगवानेले जिल्लाका सबै आठवटा विधानसभा क्षेत्र र संघ क्षेत्रमा घर-घरै पुगेर गरिने प्रमाणीकरण र फारम डिजिटलाइजेसनको काम पूरा भएको जानकारी दिए। यस प्रक्रिया अन्तर्गत क्षेत्र परिवर्तन गरेका, मृत्यु भएका, फेला नपरेका वा हाल सम्बन्धित क्षेत्रमा बसोबास नगरेका कुल १४,२१४ मतदाताहरूलाई ‘फेला नपरेका’ को सूचीमा राखिएको छ। विशेष सघन पुनरीक्षणको मुख्य उद्देश्य मतदाता नामावलीलाई पूर्ण रूपमा स्वच्छ र सही बनाउनु रहेको उनले प्रस्ट पारे।
क्षेत्रगत प्रगति विवरण अनुसार तुमिन-लिङ्गीमा १६,६८७ फारम मुद्रणमध्ये १६,०६० डिजिटलाइज्ड र ६२७ फेला नपरेका छन् भने खामदोङ-सिङताममा १४,५१५ मुद्रणमध्ये १३,०३३ डिजिटलाइज्ड र १,४८२ फेला नपरेका छन्। श्यारीमा १६,३२२ मुद्रणमध्ये १४,६७७ डिजिटलाइज्ड र १,६४५ फेला नपरेका तथा मार्तम-रुमटेकमा १७,७७१ मुद्रणमध्ये १६,६८२ डिजिटलाइज्ड र १,०८९ फेला नपरेका छन्। यसैगरी अपर तादोङमा १२,३५४ मुद्रणमध्ये १०,३१८ डिजिटलाइज्ड र २,०३६ फेला नपरेका, अरिथाङमा १२,४४० मुद्रणमध्ये ९,९८३ डिजिटलाइज्ड र २,४३१ फेला नपरेका, गान्तोक निर्वाचन क्षेत्रमा ११,९८७ मुद्रणमध्ये ९,८१० डिजिटलाइज्ड र २,१७७ फेला नपरेका, अपर बर्तुकमा १६,०१९ मुद्रणमध्ये १३,८३४ डिजिटलाइज्ड र २,१८५ फेला नपरेका तथा संघ क्षेत्रमा ४,१७१ फारम मुद्रणमध्ये ३,६२९ डिजिटलाइज्ड र ५४२ जना फेला नपरेका मतदाताको सूचीमा परेका छन्।
जिल्लापालले आगामी ५ जुलाई २०२६ मा प्रारम्भिक मतदाता नामावली (ड्राफ्ट) प्रकाशन गरिने जानकारी दिए। यो अन्तिम नामावली नभएकाले नाम छुटेका वा त्रुटि भएका नागरिकले ५ जुलाईदेखि ४ अगस्ट २०२६ सम्म दाबी तथा आपत्ति दर्ता गराउने पर्याप्त अवसर पाउनेछन्। प्रारम्भिक सूचीमा नाम नदेखिए पनि आत्तिनु नपर्ने भन्दै उनले उपयुक्त प्रमाणसहित निर्वाचन दर्ता अधिकारी (ईआरओ) सँग सम्पर्क गर्न आग्रह गरे। सबै दाबी र आपत्तिको समाधान गरेपछि ६ सेप्टेम्बर २०२६ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।









