गलत समाचार र अफवाहहरूप्रति सचेत रहन सर्वसाधारणलाई बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको आग्रह

58c533c3-3969-42d9-b14c-246ad3526dec

खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गलत समाचार र अफवाहहरूप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्। खरसाङको ‘सामी लाखाङ गुम्बा’ का धर्म गुरु पेम्बा रिम्पोर्छेले पत्रकारहरूसँग कुरा गर्दै दार्जिलिङबारे सामाजिक सञ्जालमा गलत सूचना र अफवाहहरू फैलिरहेको बताएका छन्। उनी अनुसार यसले दार्जिलिङ पहाडी क्षेत्रका बासिन्दाहरूलाई भ्रममा पार्न सक्छ। उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। उनले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा “दार्जिलिङ नेपालमा गाँभिने कुरा निश्चित छ” भन्ने दाबीहरू आएका छन्। साथै, “भारत सरकारले पहिलो पटक गोर्खा नेताहरूसँग यस्तो विषयमा सोधेको छ, जसको उनीहरूले कल्पनासमेत गरेका थिएनन्” भन्ने खालका दाबीहरू पनि देखिएका छन्, जसले निकै चर्चा र हलचल मच्चाएको छ।
दार्जिलिङ पहाडी क्षेत्रका बासिन्दाहरूलाई यस्ता गलत र भ्रमयुक्त दाबीहरूप्रति सचेत रहन आग्रह गर्दै उनले चेतावनी दिएका छन् कि यस्ता गलत अफवाहहरूले दार्जिलिङमा बसोबास गर्ने गोर्खाहरूमाथि गम्भीर आक्षेप लगाउन सक्छन्। आफ्नो भनाइमा जोड दिँदै उनले भने, “हामी नेपाली होइनौं; हामी भारतीय गोर्खा हौं। हामी भारतीय संविधानको दायराभित्र एउटा छुट्टै व्यवस्था अर्थात् छुट्टै राज्य चाहन्छौं, जसको स्थापना सरकारले गर्नुपर्छ।”

About Author

Advertisement