सिलगढी: विगत केही दिनदेखि गरम अत्याधिक बढेको छ। उत्तर बंगालको केही जिल्लाहरू लगायत सिलगढी शहरमा पनि अचानक गर्मी बढेर गएको छ। यसरी बढेको गर्मीले गर्दा धेरैजना मानिसहरू बिरामी भएका छन। अधिक गर्मीको कारणले गर्दा विद्यार्थीहरूलाई निक्कै असुविधा भइरहेको छ। यसरी गर्मी भएको कारण धेरै मानिसहरू बिरामी भइरहेका छन्। गत १५ जुलाईको दिन सिलगढीका विधायक डा. शंकर घोषले राज्यका शिक्षा मन्त्री ब्रत्य बसुलाई पत्राचार गरेका छन्। उनले पत्रमार्फत शिक्षामन्त्रीलाई उत्तर बंगालको सबै स्कुलहरूलाई मर्निङ सिफ्ट गरिनुपर्ने बताए। यसै विषयलाई लिएर आज भारतीय जनता युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाको तर्फबाट सिलगढी महकुमा शासक कार्यालयमा महकुमा शासक मार्फत् दार्जिलिङ जिल्ला शासकलाई एउटा ज्ञापन पत्र चढायो। ज्ञापन पत्र चढाएपछि युवा मोर्चा जिल्ला अध्यक्ष अरिजीत दासले भने, जब दक्षिण बंगालमा अधिक गरम बढेको थियो त्यस समय उत्तर बंगालको स्कुलहरू बन्द गरिएको थियो। तर हाल उत्तर बंगालमा पनि निक्कै गर्मी बढे तापनि स्कुलहरूमा पढ्ने विद्यार्थीहरूमाथि राज्य सरकार किन ध्यान दिँदैन। राज्य सरकारले नानीहरूको जीवनसित खेलवाड़ गरिरहेको छ। दिन प्रतिदिन नानीहरू बिरामी भइरहेका छन्। सिलगढी महकुमा अन्तर्गत केही ठाउँहरूमा स्कुलहरूको अवस्था अति नै दयनीय रहेको छ भने कहीँ नानीहरूले पिउनको लागि पानी समेत पाएका छैनन्। यसैगरी, कुनै स्कुलहरूमा पङ्खा समेत खराब भएको छ। महकुमा शासकले यी सबै विषयमा ध्यान दिने आश्वासन दिएको युवा मोर्चा अध्यक्ष अरिजीत दासले बताए।










