गजल

00-1-Gazal

दुनियाँ जिते पनि आफैसँगको युद्धमा हार्छ मान्छे

तैपनि बुझदिल बनेर जितें भनी स्वाङ पार्छ मान्छे

लोकाचार गरेर जिउनु मान्छेको बाध्यता भएर नै

हारको पीडा पचाउन एकान्तमा आँसु झार्छ मान्छे

जिन्दगीको बाटोमा हारै हारको  उपहार पाए पनि

कसैले हाल खबर सोद्धा ठीकै छु भनी टार्छ मान्छे

धोका, छल, कपट र षड्यन्त्रले आजित भएपछि त

हृदयको सुन्दर फूलबारी  चारैतिरबाट बार्छ मान्छे

रङ्गमञ्च हो यो संसार जस्तै अभिनय पनि गर्नैपर्छ

अभिनय गर्दागर्दै पनि नभए हारेको मन मार्छ मान्छेll

About Author

Advertisement