गजलकार धिरेन संघर्षको गजल संग्रह ‘सादा सिउँदो’ र म्युजिक भिडियोको लोकार्पण

IMG-20260614-WA0070

गाउँमा परिश्रम गरेर जैविक जीवन जिएर सिर्जना कार्यमा पनि लागेका युवा हुन् धिरेन संघर्ष: सुवास सोताङ

गोरुबथान: गोरुबथान क्षेत्रका गजलकार धिरेन संघर्षको गजल संग्रह ‘सादा सिउँदो’ र ‘सम्हाल आफुलाई’ नामक म्युजिक भिडियोको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। लालिमा परिवार अलगढा कालेबुङको आयोजनामा सम्पन्न उक्त लोकार्पण कार्यक्रम गोरुबथानको बीएडीपी हलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको अध्यक्षता समीर राई शान्तिले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एवं साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्य सुवास सोताङ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वुलियम फिपन, पूर्व सभासद एंव प्रकाशक चन्द्र योञ्जन, सूर्यमणि राई, बिनोद पराजुली लगायत अन्यहरु उपस्थित रहेका थिए। गजलकार निर्दोषिका तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण महेश्वर प्रधानले राखेका थिए। यसै कार्यक्रममा गजलकार धिरेन संघर्षद्वारा लिखित चौथो गजल कृति ‘सादा सिउँदो’ र ‘सम्हाल आफुलाई’ नामक म्युजिक भिडियोको सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु लगायत गजलकार धिरेन संघर्ष र उनका पिता रवि छेत्री र छोरा आकृष्ट छेत्रीको बाहुलीबाट लोकार्पण गरिएको छ।कार्यक्रममा म्युजिक भिडियोका कलाकारहरु, गायक -गायिका, संगीतकार र सहयोग गर्ने सबैलाई स्मारिका प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा ‘सम्हाल आफुलाई’ म्युजिक भिडियोमाथि कवि एंव नायक पुष्कर सिंगरले टिप्पणी राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार एवं साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्य सुवास सोताङले आफ्नो सम्बोधनमा आज गोरुबथानमा गजलको भेट भएको बताउँदै सायद गोरुथानमा यो गजलको पहिलो कार्यक्रम हो भनी बताएका छन्। उनले भने, राम्रो गजलको पुस्तकको निम्ति गजलकार धिरेन संघर्षलाई बधाई छ। गजलकारको संघर्ष उपनाम सुहाएको छ। किनभने उनी इमान्दार युवक र गाउँमा परिश्रम गरेर जैविक जीवन जिएर सिर्जना कार्यमा पनि लागेका युवा हुन्।’ सुवास सोताङले संघर्षका गजलहरुमा संघर्षको कुरा, माटोको गन्ध, परिश्रमको सुगन्ध रहेका छन्। उनले गजलहरु कलात्मक रुपमा सिर्जना गरेका छन्। उनले आफ्ना गजलहरुमा जातीय पीढा, उन्मुक्तिको चाहाना र संघर्षको सठीक रुपमा उतारेका छन्। उनका गजलहरुमा व्यक्ति पिढासितै जातीय चिन्ता, र जातीय मोहका कुरा उठाएका छन्। उनी चिन्तनशील युवा हुन्। विशिष्ट अतिथिहरु क्रमैले प्रकाशक चन्द्र योञ्जन, बिनोद पराजुली, करूणा छेत्री, सभाध्यक्ष समीर राई शान्ति आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा गजलकार धिरेन संघर्षले कार्यक्रममा उपस्थित र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आफ्नोे लोकार्पित गजल संग्रहबाट गजल वाचन गरेका थिए। कार्यक्रममा ‌मनोज बोगटी, सञ्जीव छेत्री, अरुण साम्पाङ, निर्दोषिका तामाङ, सुवास ठकुरी आदिले गजल वाचन गरेका थिए।

त्यसरी नै कविहरु प्रवीण खालिङ, गोपाल ढकाल, सूर्य रखाली राई लगायत अन्यहरुले पनि कविता वाचन गरेका थिए‌। यस कार्यक्रमलाई गजलकार संगम सुधाले सञ्चालन गरेका थिए। उल्लेखनीय छ गजलकार धिरेन संघर्षको अघिबाटै तीनवटा गजल संग्रह प्रकाशित छन्। यस कार्यक्रममा सिक्किम, कालेबुङ, खरसाङ लगायत गोरुबथानका विभिन्न स्थानहरुबाट साहित्यकारहरु उपस्थित रहेका थिए।

About Author

Advertisement