खरसाङ: खरसाङमा विभिन्न किसिमका भ्रम फैलाउने, अफवाह सिर्जना गर्ने तथा वातावरणलाई अनावश्यक रूपमा बिगार्ने प्रयासहरू भइरहेकोप्रति सबैलाई सचेत रहन खरसाङका विधायक सोनाम लामाले अनुरोध गरेका छन्। उनले विशेष गरी खरसाङ हाट बजारका सम्पूर्ण व्यवसायीलाई कुनै पनि अफवाह वा गलत सूचनाबाट नआत्तिन, धैर्य र संयमता अपनाउँदै निश्चिन्त भएर आफ्नो व्यवसाय सञ्चालन गरिरहन आग्रह गरेका छन्। विधायक सोनाम लामाले कोलकाताबाट एउटा भिडियो जारी गर्दै भनेका छन्, ‘हाल म कोलकातामा बजेट अधिवेशनको कारण व्यस्त रहेको छु। आगामी दुई–तीन दिनभित्र खरसाङ फर्किएपछि तपाईंहरूसँग प्रत्यक्ष भेटघाट गर्नेछु।नसम्बन्धित प्रशासन तथा सरोकारवाला पक्षसँग संयुक्त छलफल गरी समस्याको उचित र दीर्घकालीन समाधान खोज्न आवश्यक पहल गरिनेछ।’
उनले अघि भने, ‘खरसाङसँग सम्बन्धित अन्य समसामयिक विषयहरूमा पनि तपाईंहरूसँग खुला छलफल र परामर्श गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
विधायक लामाले अझ भने, ‘कृपया कुनै पनि अपुष्ट सूचना वा अफवाहको पछि नलागी शान्त, संयमित र एकताबद्ध रहनुहोस्।’










