११ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा युनाइटेड दिलाराम एफसी-ले सजिलै जीत हासिल गऱ्यो। चानमारी मैदानमा आइतवार खेलिएको दिनको दोस्रो म्याचमा युनाइटेड दिलाराम एफसी-ले रोहिणी एफसी-लाई ५-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट प्रज्ज्वल राईले २ गोल गरे। यसबाहेक विशाल राई, दिनु सुब्बा र दिवस तामाङले १-१ गोल गरे। रोहिणी एफसी-बाट निकेश राईले गोल गरे। यस म्याचमा प्रतीक गुरुङ मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा सलिम गुरुङ र सत्यम थापा थिए। फोर्थ अफिसियलको जम्मेवारी सञ्जय थापाले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन छेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।









