खरसाङ: छिपिन्दै गएको हिउँदमा बिहानी पखको ठिहिऱ्याउने जाडोमा ‘खरसाङ विन्टर रन २०२४’को रमाइलो वातावरणले सबैलाई न्यानोपन महसुस गरायोl सस्टेनेबल टुरिजम अर्थात दिगो पर्यटनको थिममा आयोजना गरिएको यस ‘खरसाङ विन्टर रन २०२४’मा विभिन्न ६०० प्रतियोगीहरूले खुबै उत्साहपूर्वक भाग लिएl खरसाङ बजारदेखि चार किलोमिटर माथि करिब १४५ वर्ष पुरानो डाउहिल स्कूलको मैदानमा खरसाङको जुम्बा टोलीको आकर्षक प्रदर्शनले सबै प्रतियोगीहरूलाई दौडको निम्ति उर्जा सञ्चार गरायोl खरसाङलाई पर्यटनको क्षेत्रमा प्रवर्धन गर्ने उद्देश्यले यस दौडको आयोजना खरसाङ सब-डिभिजनल स्पोर्ट्स एसोसिएसन (केएसएसए)ले खरसाङ एथलेटिक क्लबसितको साझेदारी अनि खरसाङ महकुमा कार्यालय, गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्टे्रसन (जीटीए)को पर्यटन विभाग, डिभिजनल फरेस्ट अफिस खरसाङ, स्टेट ब्यांक अफ् इण्डिया खरसाङ शाखा र खरसाङ एसोसिएसन फर टुरिजम एण्ड कन्जरभेसनको सहयोगमा आयोजना गरेको होl

यो दौड डाउहिल स्कूलबाट शुरु भएर प्रेसिडेन्सी कलेज (भिक्टोरिया स्कूल नजिक), चित्रे, चिम्नी, देवराली तीन माइल हुँदै डाउहिलमा आएर समापन भयोl ६०० प्रतियोगीहरूमा खरसाङ, दार्जीलिङ, मिरिक, सिलगढी, कालेबुङ, सिक्किम, बिहार साथै सात समुद्र पारिको देश केन्याबाट पनि आएका थिएl यस दौडमा १० किलोमिटर (महिला अनि पुरुष- १५ वर्षदेखि ४५ वर्षसम्म), १० किलोमिटर (महिला अनि पुरुष- ४६ वर्षदेखि ५९ वर्ष), ५ किलोमिटर (मिक्स्ड-पुरुष-महिला- ६० वर्षदेखि माथि), के रन- ५ किलोमिटर (मिक्स्ड- ४ देखि १४ वर्षसम्म केटा-केटी)को लागि राखिएको थियोl सबिना गिरी र दिव्यतम अधिकारीले सञ्चालन गरेको कार्यक्रमा जीटीएको सूचना अनि संस्कृति विभाग खरसाङ कलाकारहरूले प्रस्तुत गरेको सांगीतिक कार्यक्रमले माहोल रौसिलो बन्योl ‘खरसाङ विन्टर रन २०२४’मा सिक्किमका म्याराथन म्यान अमर सुब्बा, दार्जीलिङका चर्चित धावक प्रेमुश भुटिया, बिकरण फाउन्डेसनका विक्रम राई पनि सहभागी बन्न आएका थिएl
रमाइन् केन्याकी हिल्डा

पहाडी भेकको रमाइलो स्वच्छ प्राकृतिक वातावरणमा नागबेली डाँडा हुँदै दौड लगाउँदा केन्याकी हिल्डा जेपकोमी अति नै हर्षित थिइन्l उनी केन्याको इलोडोरेट शहरबाट आएकी हुन्l यहाँ उनलाई छुट्टै नयाँ रमाइलोपन महसुस भइरहेको थियोl यताको पहाडी भेकमा उनको यो पहिलो सहभागिता होl यहाँ दौडन पाउँदा आफूलाई औधी नै खुशी लागेको बताइन्l यताका उकालो ओह्रालो डाँडाहरूमा दौडदा कहिँ चुनौतीपूर्ण लागेको र प्राकृतिक सौन्दर्य रमाइलो लागेको उनले बताइन्l आफ्ना साथीहरूबाट जानकारी पाएर उनी यहाँ आएकी हुन्l यता फेरि पनि यस्ता कार्यक्रमहरूमा आउने इच्छा हिल्डाले उजागर गरिन्l १० किलोमिटरमा उनी दोस्रो उपविजेता बनिन्l
‘म पढेर आईपीएस हुन्छु’

खरसाङकी आस्ना अलि नौ वर्ष पुगेकी हुन्l आस्नाले पनि पाँच किलोमिटरको दौड लगाइन्l दौडलाई उनले सानै उमेरमा जीवनको दौडतिर मोडेकी आभाष हुन्छ कुरा सुन्दाl जीवनको दौड लगाउँदै उनी पढेर आईपीएस बन्ने लक्ष्यमा छिन्l आस्ना ग्रीन बेल्ट हासिल गरेकी कराते खेलाडी हुन्l यसरी यस्तो दौडको प्रतियोगितमा भाग लिँदा आफूलाई खुबै राम्रो र खुशी लागेको उनी बताउँछिन्l आफू प्रतियोगितामा दुगुर्दा खरसाङको वन विभागको अफिस, डियर पार्कहरूको दृश्य रमाइलो लागेको कुरा गरिन्l हुन त आस्नाले यी सबै त पहिला पनि आमाबाबुसित घुम्न आउँदा देखेकी हुन्, तर आज आफू प्रतियोगितामा भाग लिएर दुगुर्दा छुट्टै रमाइलोपन महसुस भएको बताइन्l ठूली भएपछि के बन्ने? आस्ना भन्छिन्, ‘पढेर आईपीएस हुन्छुl’ आईपीएसमा के हुन्छ? उनी भन्छिन्, ‘पुलिस अफिसरl’
स्वास्थ्यको लागि दौड लाभदायक
सिलगढीबाट आएका ४८ वर्षीय डाक्टर हीरालाल पासवान र ५१ वर्षीय डाक्टर प्रवीण कुमार (नियोटिया अस्पताल) दौड स्वास्थ्यको लागि लाभदायक रहेको बताउँछन्l पहाडका उकालो ओह्रालो बाटोहरू चुनौतीपूर्ण रहेको उनी दुवैको भनाइ छl पहाडको यस्ता स्वच्छ हरियाली डाँडाहरूमा दौडन पाउँदा खुबै आनन्द लागेको उनी दुवै बताउँछन्l
‘खरसाङ विन्टर रन २०२४’

१५ देखि ४५ वर्षसम्मको १० किलोमिटर (पुरुष) दौडमा प्रथम पुरण राई, दोस्रो विभेक छेत्री, तेस्रो विकाश भुजेलl १५ देखि ४५ वर्षसम्मको १० किलोमिटर (महिला) प्रथम चन्द्रकला शर्मा, दोस्रो हिल्डा जेपकोमी, तेस्रो बिनिताl १० किलोमिटर ४५ वर्षदेखि माथि (पुरुष) प्रथम नामफार लेप्चा, दोस्रो सुवर्ण सुब्बा, तेस्रो कुशल सुब्बाl १० किलोमिटर ४५ वर्षदेखि माथि (महिला) प्रथम अनुदा तामाङ, दोस्रो रिता देवान, तेस्रो छिरिङ लम्हु भुटियाl ५ किलोमिटर (मिक्स्ड) ६०+ मा प्रथम वीरबहादुर तामाङ, दोस्रो शिवकुमार राई, तेस्रो वीरमान तामाङl ५ किलोमिटर (केटा) ४ देखि १४ वर्षसम्ममा प्रथम लक्की शर्मा, दोस्रो प्रज्ञान दियाली, तेस्रो दावा छिरिङ शेर्पाl ५ किलोमिटर ४ देखि १४ वर्षसम्म (केटी) प्रथम जोया खातुन, दोस्रो शिवानी भुजेल, तेस्रो प्रशंसा विश्वकर्मl सबै प्रतियोगीहरूलाई सभासद श्याम शेर्पा, खरसाङ महकुमा अधिकारी बन्दवासी तेजा दीपक, डीएफओ देवेश पाण्डे, स्टेट ब्यांक अफ् इण्डिया खरसाङ शाखाका म्यानेजर, केएसएसएका अध्यक्ष मोहन योन्जन साथै अन्य विशिष्ट अतिथिहरूको बाहुलीबाट पुरस्कार वितरण गरियोl १० किलोमिटरको दौडमा पुरुष र महिला वर्गका लागि प्रथम पुरस्कार राशि रु० १५ हजार, दोस्रो पुरस्कार राशि रु० १० हजार, तेस्रो पुरस्कार राशि रु० ५ हजार राखिएको थियोl यस्तै अन्य वर्गहरूमा पनि नगद पुरस्कार राखिएको थियोl कार्यक्रममा सभासद नुरी शेर्पा, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ र उपाध्यक्ष सुवास प्रधान पनि उपस्थित थिएl

दिगो पर्यटन
‘खरसाङ विन्टर रन २०२४’ को मुख्य उद्देश्य खरसाङ क्षेत्रको पर्यटनलाई दिगो बनाउनु रहेको खरसाङ महकुमा अधिकारी बन्दवासी तेजा दीपकले बताएl वन विभागसित मिलेर पर्यटनको माध्यमबाट आर्थिक अवसर बढाउन सक्ने उनले बताएl पहाडी भेकको पर्यटन विकासमा ट्रेकिङको छुट्टै भूमिका रहन्छ, यसबारेमा डीएफओ देवेश पाण्डेले सस्टेनेबल टुरिजमको माध्यमबाट ट्रेकिङ रुट बनाउन सकिने बताएl यसपालीको कार्यक्रम राम्रो भएको र यस ठाउँलाई सस्टेनेबल टुरिजमको माध्यमबाट विकास गर्नसक्ने एडीएफओले बताएl केएसएस तथा ‘खरसाङ विन्टर रन २०२४’का सचिव निर्मल गुरुङले यो कार्यक्रम अब वार्षिक क्यालेन्डरको रुपमा आयोजना गर्ने प्रयास गरिने बताएl यसपालीको कार्यक्रम सफल भएको र सबैतिरबाट सहयोग प्राप्त भएको बताएl









