विरोधमा पसलेहरुद्वारा पसलहरु बन्द
खरसाङ: खरसाङ नगरपालिकाको प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका १२३ पसलेहरूलाई १५ दिनभित्र आफ्नो पसल खाली गर्न सूचना जारी गर्ने प्रक्रिया शुरु गरिएको छ। हालमा खरसाङ नगरपालिकाको प्रशासकको रुपमा खरसाङ महकुमा शासक रहेका छन्। यस पहल अन्तर्गत शनिवार धेरै पसलेहरूलाई निष्कासन सूचना दिइएको छ। प्राप्त जानकारी अनुसार भूमि तथा भूमि सुधार विभाग, भूमि सुधार शाखा, कोलकाताले १९ जुलाई २००५ मा दीर्घकालीन सम्झौता अन्तर्गत खरसाङ मौजामा रहेको ०.६९५२ एकड जमीन खरसाङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो। प्राधिकरणको अनुमतिबिना र कुनै पनि कानुनी अधिकारबिना यस सरकारी जमीनमा अनाधिकृत कब्जा र हस्तक्षेप गरिएको भन्दै सूचना प्राप्त भएको १५ दिनभित्र पसलेहरूलाई सामानसहित आफ्नो पसल खाली गर्न भनिएको छ। यस सम्बन्धमा यदि कसैसँग कुनै समर्थन कागजातहरू छन् भने उनीहरूलाई खरसाङ नगर प्रशासन समक्ष पेश गर्न भनिएको छ। सूचनामा उल्लेख छ कि दिइएको सूचनाको अवज्ञा गरेको खण्डमा विभागले प्रशासनको सहयोगमा कुनै सूचनाबिना सम्बन्धित पसल जबरजस्ती खाली गर्नेछ। यस सूचनाको विरोधमा खरसाङ बजारको हाट बजार क्षेत्रमा रहेका दोकानहरु आज बन्द राखिएका छन्।











