खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघद्वारा वर्ष २०२३ र २४ को विभिन्न खेलकूद कार्यक्रमहरू सार्वजनिक गरेको छ। सन् १९६० सालदेखि लगातार रूपमा खरसाङ महकुमा क्षेत्रमा विभिन्न खेलहरू आयोजना गर्दै आएका खरसाङ पार्वत्य खेलकूद संघले आज आफ्नो कार्यालयमा वर्ष २०२३ र २४ को विभिन्न खेलकूद कार्यक्रमहरू सार्वजनिक गरेको छ। यसको लागि कार्यालयमा एक सभा सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा नै २०२३ को अप्रेल महिनादेखि २०२४ को जनवरी महिनासम्मको विभिन्न खेलकूद कार्यक्रमहरू सार्वजनिक गरिएको छ। सभापछि पत्रकार सम्मेलन बोलाएर खरसाङ गोर्खा पार्वत्य खेलकूद संघद्वारा वर्षभरिको विभिन्न खेलकूदहरू विषयमा जानकारी गराइएको छ। पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले एक वर्षभरिको विभिन्न खेलकूद कार्यक्रमहरू अन्तर्गत अप्रेलदेखि जनवरीसम्म खेलाइने विभिन्न खेलकूदहरू रहेको र यसपाली अप्रेल महिनाको १८, १९ र २० अप्रेलमा त्रि स्तरीय भलिबल कार्निभल आयोजना गरिने भएको जानकारी गराएका छन्। उनले उक्त त्रि स्तरीय भलिबल कार्निभल अन्तर्गत अन्तर विद्यालय बोइस र गर्ल्स अनि ओपेन भलिबल टुर्नामेन्ट हुने जानकारी गराएका छन्। यसै भलिबल कार्निभलको फाइनल खेल २० अप्रेलमा हुने अनि यसै फाइनल खेलको दिन ४० वर्षदेखि माथिका महिलाहरू र ५० वर्षदेखि माथिका पुरूषहरूका लागि म्याराथनको पनि आयोजना गरिने भएको जानकारी गराएका छन्। उनले यही अप्रेल महिनामा नै ३० अप्रेलदेखि ५ मईसम्म लेदर बलमा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको पनि आयोजना गरिने र यसको लागि केवल ८ वटा टिमहरूलाई मात्र समावेस गरिने र यसको लागि आगामी २४-२५ अप्रेलभित्रमा नै सम्पर्क गर्नु पर्ने पनि बताएका छन्। उनले यो लेदर बललाई लिएर टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य नै क्रिकेटमा युवाहरूलाई प्रोत्साहन गर्नु तथा असल खेलाड़ीहरूलाई माथिल्लो तौरमा पनि लगेर जानु रहेको बताएका छन्।









