खरसाङ: जीटीए चुनावमा निर्दलीय प्रार्थीको रुपमा २८ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिबाट उठेका सन्तकिशोर गुरुङले आफ्नो चुनावी घोषणा पत्र जारी गरेका छन्। उनले आफ्नो घोषणा पत्रमा खाली ठाउँ राखेर सबैलाई वितरण गर्ने र ती खाली घोषणा पत्रमा जनताले नै आफ्नो विभिन्न समस्याहरू भरेर पठाउनु पर्ने र जनताले पठाएको ती सबै समस्याहरू समाधान गर्नलाई कार्य गर्ने बताएका छन्। खरसाङ गिध्द पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा उठेका सन्तकिशोर गुरुङको लागि चुनाव कड़ा प्रतिद्वान्दिता हुने देखिएको छ कारण यही समष्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले पनि चुनाव लडिरहेका छन्। यसै समष्टिबाट अन्य निर्दलीय प्रार्थीहरू लगायत सीपीआईएमको प्रार्थी पनि प्रतिद्वान्दिता गरिरहेका छन्। खरसाङमा आफ्नो चुनाव घोषणा पत्र जारी गर्दै सबै पार्टीका नेताहरूले चुनाव घोषणा पत्र जारी गर्छन् तर मैले आफ्नो व्यक्तिगत घोषणा पत्र जारी नगरेर जनताको घोषणा पत्र भनेर जारी गरेको बताएका छन्। गुरुङले यसपालीको चुनावमा जसले जितेर गएपनि जनताको समस्याहरू बुझेर काम गर्नुपर्ने र नेताको हिसाबले होइन तर जनताको हिसाबले काम भएको हुनुपर्छ भनी बताएका छन्। उनले म कुनै राजनैतिक पार्टीको ब्यानरमा होइन अनि कुनै राजनीतिक दलको छत्रछाँयामा पनि उठेको होइन तर जनताको समस्या बुझेर काम गर्नलाई चुनाव मैदानमा उत्रेको बताए।











