खरसाङ: श्री राम जन्मोत्सव शोभायात्रा आयोजक समिति खरसाङको आयोजनामा यसपाली खरसाङमा विराट राम नवमी शोभायात्रा निकालिने भएको छ। यस विषयमा खरसाङमा पत्रकार सम्मेलन बोलाएर श्री राम जन्मोत्सव शोभायात्रा आयोजक समितिले जानकारी गराउँदै आगामी २७ मार्चको दिन खरसाङको मोटर स्ट्याण्डबाट श्री राम नवमी शोभायात्रा निकालेर खरसाङ बजार परिक्रमा गर्दै पुनः मोटर स्ट्याण्डमा आएर समाप्त हुने भएको जानकारी गराएका छन्। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा श्री राम जन्मोत्सव शोभायात्रा आयोजक समिति खरसाङको अध्यक्ष रमेश प्रसाद, सचिव राजेन प्रधान, सह सचिव राकेश प्रसाद, सन्तोष प्रसाद र ईभान फाउण्डेशनको अध्यक्ष प्रशान्त शर्मा उपस्थित रहेका थिए। पत्रकारहरुलाई सम्बोधन गर्दै आयोजक समितिको अध्यक्ष रमेश प्रसाद, सचिव राजेन प्रधान र ईभान फाउण्डेशनको अध्यक्ष प्रशान्त शर्माले विस्तृत जानकारी गराए अनुसार विगत वर्षहरु झैं यस वर्ष पनि खरसाङमा श्री राम जन्मोत्सव शोभायात्रा निकाल्ने भएको र यो आगामी २७ मार्चको दिन अपरान्ह १ बजीदेखि शुरु हुने भएको छ। तीनैजनाले बताए अनुसार यस अवसरमा खरसाङ क्षेत्रका सबै मन्दिरहरुका प्रमुख साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा दिइएको जानकारी गराएका छन्। यस शोभायात्रामा श्री राम जन्मोत्सवलाई लिएर विभिन्न झाँकीहरु पनि प्रदर्शनी गरिने भएको छ। शोभायात्रा शुरु हुन अघि उक्त झाँकीहरुलाई मानव उत्थान सेवा समिति खरसाङकी अध्यक्षा असीमा बाईजी र ब्रह्मकुमारी खरसाङकी प्रमुख सञ्चालिका बीके दुर्गादेवीको बाहुलीबाट पूजा गरिने कार्यक्रम रहेको छ। यस श्री राम जन्मोत्सव शोभायात्रामा प्रमुख अतिथिको रुपमा जीटीए अनित थापाको विशेष उपस्थिति रहने भएको छ।










