खरसाङ: ८०औं स्वतन्त्रता दिवस समारोह समिति २०२६ खरसाङको आयोजनामा खरसाङमा स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको छ। खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित उक्त 80 औं स्वतन्त्रता दिवस कार्यक्रमको अध्यक्षता आयोजक समितिको सभापति गोबिन छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। सूचना अनि सांस्कृतिक विभाग खरसाङका कलाकारहरुले बन्दे मातारम गीत प्रस्तुत गरेपछि थालिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित विधायक सोनाम लामाको बाहुलीबाट राष्ट्रिय ध्वज उत्तोलन गरिएको छ। कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुले सलामीसहित परेड अनि डिसप्ले प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित विधायक सोनाम लामाले सलामी ग्रहण गरेका थिए। यस क्रममा सन्त जोसेफ कन्या विद्यालय र सन्त अल्फन्सेस विद्यालयका विद्यार्थीहरुले संयुक्त रुपमा हाईल्याण्ड क्याथेड्रल ब्याग पाइप म्युजिक प्रस्तुत गरेका थिए। सबिना गिरी र सबिता छेत्रीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण आयोजक समितिको सचिव रामकृष्ण शर्माले राखेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागकी कलाकार सृजना देवानले देशभक्ति गीत प्रस्तुत गरेका थिए भने सन्त हेलेन स्कूलद्वारा ड्रिल डिसप्ले गरेका थिए। कार्यक्रममा नानीहरुद्वारा छद्मभेष प्रतियोगिता राखिएको थियो जसमा रिम्पोर्छे बनेका गणेशबहादुर सेवा प्रथम, इन्दिरा गाँधी बनेकी कुन्सेल लामा दोस्रो र तेञ्जिङ नोर्गे शेर्पा बनेका आयन मलिक तेस्रो भएका छन्। त्यसरी नै कार्यक्रममा देशभक्ति नृत्य प्रतियोगिता आयोजना गरिएको थियो जसमा प्रथम डेजिस स्कूल प्रथम, कारमेल स्कूल दोस्रो र सलेशियन कलेज सोनादा तेस्रो बनेका छन्। कार्यक्रममा सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय बनेका छन्। त्यसरी नै मार्चपार्स्टमा छात्रावर्गमा प्रथम सन्त जोसेफ कन्या विद्यालय, दोस्रो रामकृष्ण कन्या विद्यालय र तेस्रो सन्त हेलेन स्कूल बनेका छन्।

त्यसरी नै छात्रवर्गमा प्रथम सन्त अल्फन्सेस, दोस्रो पुष्पारानी र तेस्रो हिमाली स्कूल भएका छन्। यसपालीको स्वतन्त्रता दिवस समारोहमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण खरसाङ टपत विद्यार्थीहरु, स्वतन्त्रता सेनानीका परिवारहरु, शहीदका परिवारहरु, वीर नारीहरु, अवकाशप्राप्त सैनिकहरु, एनसीसी, सफाई कर्मचारी आदिलाई सम्मान जनाइएको छ। यसै क्रममा प्रेस क्लब अफ् खरसाङलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा भारत स्काउट एण्ड गाइडका जोगेन्द्र प्रसादलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामा, सभाध्यक्ष गोबिन छेत्रीले पनि सम्बोधन गरेका थिए। यसपाली खरसाङमा आयोजित ८०औं स्वतन्त्रता दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको सभापति गोबिन छेत्री र सचिव रामकृष्ण शर्माले विस्तृत रुपमा जानकारी गराएका छन्।













