खरसाङमा पत्रकारहरूलाई लिएर मिडिया कार्यशाला सम्पन्न

IMG-20240925-WA0326

खरसाङ: प्रेस क्लब अफ् खरसाङको आयोजनामा खरसाङमा मिडिया कार्यशाला सम्पन्न भएको छ। प्रेस क्लब अफ् खरसाङ र गुगल डाटा लिड्स न्युज ईनिसियटिभ ईण्डिया ट्रेनिङ नेटवर्कको तत्वावधानमा खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा उक्त कार्यशाला सम्पन्न भएको छ।उक्त कार्यशालामा प्रशिक्षकको रूपमा गुगल डाटा लिड्स न्युज ईनिसियटिभ ईण्डिया ट्रेनिङ नेटवर्कको तर्फबाट एंव वरिष्ठ पत्रकार सुमिता जायसवाल उपस्थित रहेका थिए। कार्यशालालाई पत्रकार हनोक थापाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सभापति एंव वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले राखेका थिए। खरसाङमा मिडिया कार्यशाला राखिनुको मुख्य उद्देश्य र आवश्यकतामाथि वरिष्ठ पत्रकार एंव प्रेस क्लब अफ् खरसाङको सल्लाहकार सञ्जय प्रधानले सम्बोधन गरेका थिए। कार्यक्रममा प्रेस क्लब अफ् खरसाङको पदाधिकारीहरू, सदस्यहरू र खरसाङ क्षेत्रका सामाजिक सञ्जालमा कार्यरत् पत्रकारहरूबीच परिचय आदान प्रदान गरियो। यसै कार्यशालामा वरिष्ठ पत्रकार सुमिता जायसवालले सामाजिक सञ्जालमा झूटो समाचार र यसको सही र गलत जाँच विषयमा प्रशिक्षण दिएका थिए। उनले गलत समाचारलाई गुगलमार्फत् जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्नु पर्ने साथै आफ्नो समाचार पोर्टलमा कुनै समाचार जाँच नगरी र सही तथ्यबिना नहाल्ने विषयमा सचेतना गराएका छन्। यसको साथै फोटो, टेक्स, भिडियो सही रूपमा मात्रै हाल्नु पर्ने भएकोले सही समाचार सम्प्रेषणको लागि सचेत रहनु पर्ने बताएका छन्।
उनले समाचार सही जाँच गरेर लेख्नु पर्ने र गलत समाचारलाई विश्लेषण गर्नु पर्ने भन्दै प्रशिक्षण गराएका छन्। उक्त मिडिया कार्यशालापछि प्रशिक्षक वरिष्ठ पत्रकार सुमिता जायसवाललाई प्रेस क्लब अफ् खरसाङको पक्षबाट सम्मान जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित फूल गुच्छा, सम्मान पत्र र दार्जिलिङ टी प्रदान गरेर सम्मान गरिएको छ। मिडिया कार्यशालामा खरसाङ क्षेत्रका पत्रकारहरू उपस्थित रहेका थिए। प्रेस क्लब अफ् खरसाङको आयोजनामा प्रथमपल्ट मिडिया कार्यशाला आयोजना गरिएको छ भने आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना गरिने भएको छ। विशेष गरेर सामाजिक सञ्जालसित सम्बन्धित पत्रकारहरू जसले सामाजिक सञ्जालमा समाचारसित सम्बन्धित रहेर कार्य गरिरहेकाहरूलाई लिएर समाचार कस्तो र कसरी गर्नुपर्छ भन्ने विषयमा सचेत गराउन हो कार्यशाला राखिएको बताइएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन उप सभापति राजेन्द्र तामाङले राखेका थिए। यस कार्यशाला विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रेस क्लब खरसाङको उप सभापति राजेन्द्र तामाङले कार्यशालाको मुख्य प्रशिक्षक वरिष्ठ पत्रकार सुमिता जायसवाल, प्रेस क्लब अफ् खरसाङको पदाधिकारीहरू र सदस्यहरू साथै उपस्थित विभिन्न मिडिया हाउसको पत्रकारहरूप्रति आभार प्रकट गरेका छन्। उनले पहिलोपल्ट प्रेस क्लब अफ् खरसाङको आयोजनामा खरसाङमा मिडिया कार्यशाला राखिएको र यो शुरुवात रहेको अनि आगामी दिनमा पनि विभिन्न कार्यशालाहरू साथै अन्य कार्यक्रमहरू पनि आयोजना गरिने जानकारी गराएका छन्।

About Author

Advertisement