खरसाङमा आदि पत्रकार एवं अग्रणी भाषा सेवक पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती समारोह सम्पन्न

IMG-20260704-WA0070

खरसाङ: आदि पत्रकार, अनुवादक, सम्पादक, गीतकार पाठ्य पुस्तक लेखक, अग्रणी भाषा सेवक पाद्री गङ्गाप्रसाद प्रधानको १७६औं जन्म जयन्ती समारोह शनिवार खरसाङमा सम्पन्न भएको छ। उक्त कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा श्रध्दाञ्जली अर्पणसितै सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष रबीनकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरुको बाहुलीबाट पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा द्वीप प्रज्ज्वलन, फूलको माला साथै खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरिएको छ। पाद्री गङ्गाप्रसाद प्रधानसितै गोर्खा जातीय विभूति उद्यानमा रहेका विभूतिहरुको सालिगमा पनि श्रध्दाञ्जली अर्पण गरिएको थियो। पुस्तकालयका मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा एल्डर मसीह प्रकाश मोक्तानले कविता वाचन गरेका थिए भने तीनधारे र खरसाङ क्षेत्रका इसाई समुदायको तर्फबाट पाद्री गङ्गाप्रसाद प्रधानद्वारा लिखित गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको विभिन्न योगदान विषयमा पास्टर राजीव सुब्बाले सम्बोधन गरेका थिए। उनले पाद्री गङ्गाप्रसाद प्रधानको योगदान र खरसाङमा आयोजना हुँदै गरेको पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती विषयमा जानकारी गराएका थिए। कार्यक्रमका सभाध्यक्ष रबीनकुमार प्रधानले आफ्नो अध्यक्षीय सम्बोधन राख्दै सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा समाजसेवी तिलक शर्मा, साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा लगायत गोर्खा जनपुस्तकालय खरसाङका पदाधिकारीहरु, गोर्खा सांस्कृतिक संस्थान् खरसाङका पदाधिकारीहरु, खरसाङ र तीनधारे क्षेत्रका इसाई अगुवाहरु उपस्थित रहेका थिए। उल्लेखनीय छ पाद्री गङ्गाप्रसाद प्रधानलाई गोर्खाहरुको आदि पत्रकार, अनुवादक सम्पादक गीतकार तथा पाठ्यपुस्तक लेखको रूपमा चिनिन्छ। उनको जन्म ४ जुलाई 1851 सालमा भएको थियो भने उनको निधन २३ मार्च १९३२ सालमा भएको थियो। उनले १९०१ देखि आफ्नो मृत्यु पर्यन्त १९४२ सम्म नै ‘गोर्खे खबर कागत् ‘ नामक मासिक समाचार पत्रको सम्पादन र प्रकाशन गरेका थिए। खरसाङमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग पनि गोर्खा जनपुस्तकालयको पहलमा स्थापना गरिएको छ। शनिवार जीटीए क्षेत्रमा पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती विभिन्न स्थानहरुमा पालन गरिएको छ। आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको स्मृतिमा‌ पत्रकारिता पुरस्कार वार्षिक रूपमा प्रदान गर्दै आएको छ।‌ यस अन्तर्गत पहिलो पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार गिदोन लेप्चालाई, दोस्रो जोएल राईलाई, तेस्रो मोहन लामालाई, चौथो सञ्जय प्रधान र पाँचौं प्रमोद गिरीलाई प्रदान गरिएको छ भने छैटौं पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारको नाम घोषणा हुन बाँकी रहेको छ।

About Author

Advertisement