खरसाङ: खरसाङको सिपाहीधुरामा गाड़ी दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहति ४ जना घाइते बनेका छन्। प्राप्त जानकारी अनुसार दिउँसो लगभग ३.३० बजेतिर सिलगढीबाट सोनादा आईरहेको ८३- ८३२७ नम्बरको स्पेसियो गाडी खरसाङदेखि केही माथितिर रहेको सिपाहीधुरामा दुर्घटनाग्रस्त बनेको छ। उक्त गाड़ीमा जम्मा आठजना यात्रीहरू रहेको जानकारी प्राप्त भएको छ।

उक्त दुर्घटनामा परेर मृत्यु हुनेहरूमा पचेङ सोनादा निवासी सविता लेप्चा अप्पर पचेङ सोनादा, गोराबारी निवासी बिना राई, गैरी गाउँ निवासी स्वस्तिका तामाङ रहेका छन्। गाड़ी दुर्घटनामा परेर घाइते भएकाहरूलाई खरसाङ महकुमा अस्पतालमा भर्ना गरिएको छ। उक्त दुर्घटनामा परेर घाइते भएकाहरूलाई हेर्न जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा पनि अस्पतालमा आएका थिए भने घटना स्थलमा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा उपस्थित रहेका थिए।

दुर्घटनामा घाइते भएकाहरूलाई खरसाङ महकुमा अस्पतालबाट उपचारको लागि सिलगढी रेफर गरिएको जानकारी प्राप्त भएको छ।











