खरसाङ: खरसाङको वार्ड नम्बर १९ मा अवस्थित क्याम्प साइड ग्राम कल्याण समितिद्वारा एक कार्यक्रम गरी समाजका विभिन्न व्यक्तिहरूलाई सम्बर्ध्दना जनाइएको छ। उक्त कार्यक्रम तापेश्वर राउतको अध्यक्षता अनि खरसाङ नगरपालिकाको सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। प्रतिमा शेर्पाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्भाषण समितिको मूल सचिव सुवास प्रधानले राखेका थिए। अतिथिहरूको बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत नृत्य मीकु अनि मीनजीले राखेका थिए। कार्यक्रममा प्रतिभा परिवार र अर्पिता दास ग्रुपबाट नृत्य प्रस्तुत गरिएको थियो। त्यसरी नै कार्यक्रममा रीता लोहागण, पूजा रावतले पनि नृत्य प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा ७० वर्ष नाघेका समाजका १७ जना वरिष्ठ नागरिकहरूलाई सम्मान जनाइएको थियो।

त्यसरी नै क्याम्प साइड ग्राम कल्याण समितिको गठन गर्ने संस्थापक सदस्यहरूलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रमेश सुब्बा र सभाध्यक्ष तापेश्वर रावतले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन देवकी प्रधान सुब्बाले राखेका थिए।











